जरबेरा फूलखेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै गुण्डुका किसान

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेका छन्।

भक्तपुर– गुण्डुका किसानले जरबेरा फूलखेतीलाई आम्दानीको स्रोत बनाउन थालेका छन्। सूर्यविनायक नगरपालिका–७ गुण्डु कार्की गाउँमा कुश कार्कीले शुरू गरेको जरबेरा फूलखेतीको आम्दानी देखेर अन्य किसान पनि त्यसतर्फ आकर्षित भएका हुन्।। 

‘कट फ्लावर’का रूपमा अत्यधिक प्रयोग गरिने जरबेरा फूलखेती नेपाललगायत विश्वमै उत्पादन हुने गरेको छ। पहेँलो, सुन्तला, गुलाबी, गाढा रातो, बैजनी र सेतो रङमा फुल्ने यो फूलको सौन्दर्यका कारण नै यसलाई विभिन्न किसिमका फूल सजावटमा बढी प्रयोग गर्ने गरिन्छ।

इजरायलबाट नेपाल भित्रिएको जरबेरा फूलखेतीबाट दुई रोपनी जग्गामा वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी दिने किसान कार्की बताउँछन्। दुई रोपनी जग्गामा फूलखेती शुरू गरेका उनले यस वर्षदेखि बागमती प्रदेश सरकारको अनुदानमा थप दुई रोपनीमा फूलखेती विस्तार गर्न उच्च प्रविधिको हरित गृह निर्माण गरेका छन्। 

उनको बारीमा जरबेराका पाँच थरीका फूल फुलिरहेको छ। भारतको पुनेबाट प्रतिबिरुवा ११० रुपैयाँमा खरिद गरी तीन हजार ५०० बिरुवा लगाएकामा हाल तीन हजार १०० बोटबाट फूल उत्पादन भइरहेको र ४०० बिरुवा मरेको किसान कार्कीले जानकारी दिए।

एक दिन बिराएर एक पटकमा करिब एक हजार आठ सय फूल टिपेर कालीमाटीमा बिक्री गर्दै आएका उनले मौसम हेरेर १५ देखि ३० रुपैयाँमा एउटा फूल बच्ने गरेको बताए। यो फूलले चार वर्षसम्म उत्पादन दिने र चार वर्षमा एउटा बोटबाट दुई हजार १६० भन्दा बढी फूल उत्पादन हुने जनाउँदै उनले दुई रोपनी जग्गामा लगाएको फूलबाट वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी हुने बताए। 

शुरूमा २० लाख रुपैयाँ लगानी गरेर टनेल निर्माणदेखि प्रविधि जडान गरी फूलखेती गरेका उनले दुई वर्षमा लगानी उठाएर चार वर्षसम्म मुनाफा लिन सकिने र चार वर्षपछि दोस्रो पटक फूल लगाउँदा नयाँ टनेल निर्माण गर्नु नपर्ने भएकाले लागत घट्ने तथा मुनाफा बढ्ने बताए। 

नगर उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले प्रदेश सरकारसँगै नगरपालिकाले पनि नगरपालिकाका बासिन्दालाई व्यावसायिक फूलखेती गर्न अनुदान दिँदै आएको बताइन्। उनले कृषि उत्पादनमा बीउ, बिरुवा, प्रविधि र तालिम दिएर किसानलाई तरकारी तथा फूल उत्पादनमा प्रोत्साहन र टनेल निर्माणमा अनुदान दिँदै आएको जानकारी दिइन्।

नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले विगत ६ वर्षदेखि सूर्यविनायकको गुण्डुलाई फूलखेतीको पकेट क्षेत्रका रूपमा घोषणा गर्दै अनुदान दिन शुरू गरेको बताए। 

उनले गुण्डुलाई फूलको राजधानीको नाममा चिनिन थालेको स्मरण गर्दै गुण्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेको बताए। उनले फूलखेती गर्ने किसानलाई सयपत्री फूलमा ७० प्रतिशत अनुदान दिएको बताए। गुण्डुका किसानलाई नगरपालिकाको अनुदानमा ५० परिवारलाई ५० हजार बिरुवा वितरण गरेको सापकोटाले जानकारी दिए। 

गुण्डुबाट मात्रै एक वर्षमा १० करोड रुपैयाँको फूल बाहिरिने जनाउँदै उनले सयपत्री, मखमली र जरबेरा फूलतर्फ यहाँका किसान आकर्षित हुँदा मनग्य आम्दानी गर्न सकेको बताए।

नगरपालिकाको कृषि शाखाका प्रमुख शान्तला बुढाथोकीले गुण्डुमा मात्रै वडा नं ७ मा कार्कीले र वडा नं ४ मा सम्राट् खड्काले जरबेरा फूलको व्यावसायिक खेती शुरू गरेको बताए। प्रदेश सरकारले उच्च प्रविधिको टनेल निर्माणका लागि नौ लाख ६० हजारमध्ये चार लाख ८० हजार रुपैयाँ अनुदान दिएको उनको भनाइ छ। कम्तीमा १५ वर्षसम्म टिकाउ हुने उच्च प्रविधिको टनेललाई झिकेर अन्यत्र सार्न पनि सकिने जानकारी दिँदै बुढाथोकीले प्रदेश सरकार र नगरपालिकाको सहयोगमा सूर्यविनायक नगर क्षेत्रलाई व्यावसायिक फूलखेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याइएको बताए।