परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि कतिपय कृषकले बाँझै रहेको जग्गा खनजोत गरेर धानखेती गर्न थालेका छन्।
पर्वत– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुइ एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन शुरू गरेको छ।
एकाइले धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका कुस्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२ बर्राचौरमा जेठोबुढो जातको उन्नत बीउ उत्पादन गर्न शुरू गरेको हो।
पछिल्लो समय नेपाली भान्छामा जेठोबुढो चामलको माग अत्यधिक बढ्दै गएको छ। स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली रेस्टुरेन्टमा पनि जेठोबुढो चामलको माग बढी हुन थालेकाले बीउ उत्पादन गर्न थालिएको परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए। उनका अनुसार स्वादिलो, बास्नादार र गुणस्तरको हिसाबले पनि उपयुक्त भएकाले पर्वतमा यसको विस्तारसँगै बीउ उत्पादन गर्न थालिएको हो।
विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा धानखेती हुँदै आए पनि यस वर्ष बीउ उत्पादन गर्न थालिएको परियोजना प्रमुख पौडेलले बताए। कार्यालयले खेतमा धानको बीउ उमार्ने, रोप्ने, गोडमेल गर्ने, उत्पादित बीउ छनोट तथा भण्डारणसम्मका काममा प्राविधिक सहयोग गर्ने उनले जानकारी दिए।
बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलो मूल बीउ वितरण गरेको छ। अहिले उमार्न थालिएको मूल बीउबाट पर्वतका सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिने परियोजना प्रमुख पौडेलले जानकारी दिए। उत्पादित बीउ आगामी वर्षबाट पर्वतका साथै अन्य जिल्लामा पनि बिक्री वितरण गर्ने उद्देश्य रहेको उनले बताए।
जेठोबुढो धानको विस्तारका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ। जुनसुकै हावापानीमा पनि सहज रूपमा उत्पादन गर्न सकिने भएकाले जिल्लाका ६१ वटै वडामा जेठोबुढो धानखेती गर्न सकिने कार्यालयले जनाएको छ।
खानका लागि चामल मात्र नभई बीउ नै उत्पादन गर्न सकेमा कृषकको आम्दानीसमेत बढ्ने बिहादी–२ बर्राचौरका कृषक रामप्रसाद पराजुलीले बताए। यस वर्षदेखि प्राविधिकको निगरानीमा वैज्ञानिक र आधुनिक पद्धतिबाट उत्पादन गरिने उक्त बीउले वैधानिकता पाउनेमा कृषक विश्वस्त छन्।
कृषक गोविन्द पराजुलीले उत्पादित बीउ सहज रूपमा बिक्री वितरणको व्यवस्था परियोजनाले मिलाइदिनुपर्ने बताए। उनले कृषकलाई प्रोत्साहन गर्न उत्पादित धानका साथै बीउको बिक्रीमा बजारीकरणमा सहजीकरण गरिदिन उनले आग्रह गरे।
परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि कतिपय कृषकले बाँझै रहेको जग्गा खनजोत गरेर धानखेती गर्न थालेको पराजुलीले बताए।
पर्वतमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। जिल्लाभर २६ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। पर्वतमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यूएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठोबूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातका धान लगाउने गरिन्छ। केही पुराना जातका धान भने लोप भइसकेको केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
