सोनिया गान्धी कांग्रेस संसदीय दलको अध्यक्ष चयन

भारतीय राष्ट्रिय कांग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएकी छन्।

भारतीय राष्ट्रिय कांग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएकी छन्। कांग्रेस नेता तथा सांसद प्रमोद तिवारीले शनिबार एएनआईसँग भने, “सोनिया गान्धीलाई कांग्रे‍स संसदीय दलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।” यो दलमा लोकसभा र राज्यसभा दुवैका सदस्य रहन्छन्।

कांग्रेस संसदीय दलको बैठकमा कांग्रे‍सका अध्यक्ष मल्लिकार्जुन खडगेले आफ्नो पार्टीको संसदीय दलको अध्यक्षका लागि सोनिया गान्धीको नाम प्रस्ताव गरेका थिए। पार्टी नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले प्रस्तावको समर्थन गरेका थिए। कांग्रेस संसदीय दलको बैठक नयाँदिल्लीस्थित संसद्को केन्द्रीय हलमा सम्पन्न भएको हो।

युनाइटेड प्रोग्रेसिभ अलाएन्सका अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खडगे र महासचिव केसी वेणुगोपाललगायत प्रमुख कांग्रेस नेताको बैठकमा उपस्थिति थियो। 

कांग्रेस संसदीय दलको बैठकमा कार्ति चिदम्बरम, राजीव शुक्ला, रणदीप सुरजेवाला, अजय माकन, पञ्जाबका पूर्वमुख्यमन्त्री चरणजीत सिंह चन्नी र शशी थरुर पनि सहभागी भए।

कांग्रेस कार्यसमितिले पार्टीका सांसद राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेतामा नियुक्त गर्नुपर्ने प्रस्ताव पारित गरेको छ। राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाडबाट लोकसभा चुनाव जितेका थिए।

कांग्रेस लगायतका विपक्षी दलको समूह, भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया)ले देशव्यापी गठबन्धन बनाएर भारतीय जनता पार्टी (भाजपा) लाई लोकसभामा एकल बहुमत प्राप्त गर्नबाट रोक्न सफल भएका छ। यद्यपि, भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ।

सन् २०२४ को लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ तर यो संख्या भाजपाको सरकार गठनका लागि एकल बहुमतको लागि संसद्मा आवश्यक सदस्य संख्याभन्दा ३२ सदस्यले कमी हो। 

अर्कोतर्फ कांग्रेसले ९९ सिट जितेर बलियो सुधार गरेको छ। भाजपा नेतृत्वको एनडीएले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३० सिट पार गरेको छ।