गृहसँग सम्बन्धित कानून र कागजात एकै स्थानमा उपलब्ध हुने

दिग्दर्शनमा २६ ऐन, २४ नियम, १४ कार्यविधि, दुई नीति, आठ निर्देशिका, ११ वटा मापदण्डलगायत हालसम्मका परिपत्र समावेश गरिएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ– गृह मन्त्रालयसँग सम्बन्धित कानून र कागजात अब एकै स्थानमा उपलब्ध हुने भएका छन्। मन्त्रालयसँग सम्बन्धित कानून, निर्देशिका, परिपत्रलगायत सामग्री एकै स्थानमा उपलब्ध गराउन पुस्तक नै तयार गरिएको हो।

गृह मन्त्रालयसँग सम्बन्धित कानून, निर्देशिका तथा परिपत्रको दिग्दर्शन, २०८१ मा यी सामग्री उपलब्ध हुने भएका हुन्। दिग्दर्शनमा आर्थिक वर्ष २०८०/८१ सम्मका दस्ताबेज समावेश गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

“दिग्दर्शनमा २६ ऐन, २४ नियम, १४ कार्यविधि, दुई नीति, आठ निर्देशिका, ११ वटा मापदण्डलगायत मन्त्रालयले हालसम्म गरेका परिपत्र समावेश गरिएको छ, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा समेत पठाउने गरी तयार गरिएको उक्त दिग्दर्शन छिट्टै प्रकाशन गर्ने तयारी रहेको छ,” उनले भने।

मन्त्रालयले तयार गरेको उक्त दिग्दर्शनले दैनिक कार्य सञ्चालनका लागि आवश्यक कानून तथा नीति, नियमहरू एकै ठाउँमा उपलब्ध हुनेछ भने कागजातको दस्ताबेजीकरण पनि भएको छ। मन्त्रालयका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा रहेको कानून निर्देशिका दिग्दर्शन संकलन तथा प्रकाशन समितिले तयार पारेको दिग्दर्शन गृहसचिव एकनारायण अर्याललाई बुझाएको छ।

कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख रिजालको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा, उपसचिव खडानन्द अधिकारी, उपसचिव ऋषि पौडेल, शाखा अधिकृत सुनिता थापा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत दिपा जोशी सदस्य रहेका थिए।

नीति तथा कार्यक्रममा ‘माइल स्टोन’का रूपमा समावेश भएको कार्यक्रमअनुसार मन्त्रालयको कानून फैसला तथा कार्यान्वयन शाखाले मन्त्रालयसँग सम्बन्धित कानून तथा कागजातको सँगालो तयार पारिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, निर्देशिका, कार्यविधि, परिपत्रलगायत दस्ताबेज एकै ठाउँमा उपलब्ध होस् भन्ने उद्देश्यले उक्त दिग्दर्शन तयार पारिएको समितिका सदस्य सचिव शाखा अधिकृत सुनिता थापाले जानकारी दिए। उनका अनुसार मन्त्रालयका विभिन्न महाशाखा र शाखाहरूसँग समन्वय गरेर दिग्दर्शन तयार पारिएको छ।

मन्त्रालयले बनाएको दिग्दर्शनलाई चार भागमा विभाजन गरिएको छ। पहिलो भागमा ऐनहरू समावेश गरिएको प्रवक्ता भट्टराईले बताए। उनका अनुसार यसैगरी दोस्रो भागमा नियमहरू, तेस्रो भागमा कार्यविधि तथा परिपत्रहरू र चौथो भागमा नीतिहरू, निर्देशिका, मापदण्डका साथै मन्त्रालयसँग सम्बन्धित विविध दस्ताबेज समावेश गरिएको छ।

विविधमा कार्य ढाँचा तथा रणनीतिक योजनाहरू राखिएको छ। दस्ताबेज खोज्न सहज होस् भन्नका लागि चार भागमा विभाजन गरिएको हो। गृहसचिव एकनारायण अर्याल सहसचिव हुँदा दुई वटा दिग्दर्शन तयार गरेका थिए। जसले छरिएर रहेका कानुनहरू एकत्रित मात्रै भएनन्, संग्रहितसमेत हुँदा खोजेको समयमा सहजै हेर्न सहज भएको बताइएको छ।

गृहसँग सम्बन्धित कानून सहज रूपमा उपलब्ध गराउन र सेवा प्रवाहका क्रममा कुनै द्विविधा भए कर्मचारीलाई पनि सहज होस् भन्ने हेतुले दिग्दर्शन तयार गरिएको गृहसचिव एकनारायण अर्यालले बताए।