विश्वविद्यालयको सम्पत्ति खोज्न गठित समितिले थाल्यो काम

विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आइतबारदेखि काम थालेको छ। 

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आइतबारदेखि काम थालेको छ। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आइतबार समितिका पदाधिकारीहरूलाई शिक्षामन्त्री सुमना श्रेष्ठ, सचिव डा. दीपक काफ्लेलगायत  अधिकारीहरूले स्वागत गरे। मन्त्री श्रेष्ठले समितिले निर्धारित समयमा काम सम्पन्न गर्ने अपेक्षा गरेको मन्त्रीको सचिवालयले जनाएको छ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव त्रितालको संयोजकत्वमा समिति गठन गरेको थियो। 

समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा डा प्रेमसागर चापागाईं रहेका छन्। समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवलाई तोकिएको छ। 

समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गामध्ये प्रारम्भिक चरणमा उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य चलअचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्नेछ।