नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट २ जना पक्राउ

प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ। नक्कली नोटसहित एक जनालाई र अर्का एक जनालाई संलग्नताको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका –१४ बस्ने ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया नीलिमा श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

कंलकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टनजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनापछि जिल्ला प्रहरी परिसरबाट विशेष प्रहरी टोली खटिएको थियो। सोक्रममा उक्त टोलीले नक्कली नोटसहित शुक्रबार डंगोललाई पक्राउ गरेको थियो। उनको साथबाट नक्कली नोट पाँच लाख १४ हजार फेला पारेको प्रहरीले जनाएको छ।

डंगोललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठको समेत संलग्नता देखिएपछि उनलाई नागर्जुन– ५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।