कर्णालीको झोलुंगे पुलमा अड्किएका ११ खच्चडको उद्धार, २ वटा मरे

कर्णाली नदीमाथि बनेको झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ११ को जीवितै उद्धार गरिएको छ भने दुई वटा मरेका छन्।

अछाम– कर्णाली नदीमाथि बनेको झोलुंगे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चड भने मरेका छन्। 

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुंगी पुलको जाली लत्रिएपछि आइतबार बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए।

पुलको जाली काटेर कर्णालीमा खसाली खच्चडको उद्धार गरिएको अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। “पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो,” उनले भने, “बाँकीको डुंगाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ।”

पुलको दाहिने तर्फको जाली लत्रिएको थियो। खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए। पुलको दाहिने तर्फको भाग पुरै बांगो भएको छ। उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दा खटिएका थिए।