त्रिभुवन विमानस्थलबाट सुनसहित ४ जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको सुनसहित चार जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चार जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक नगरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन्।

प्रहरीले कोइराला र आलामबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९.९९ ग्राम सुनको काँचो डल्लोसहित बरामद गरिएको जनाएको छ। यस्तै, ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाएको छ।

उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।