प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

प्रतिनिधिमण्डलस्तरीय भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

काठमाडौँ– भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रतिनिधिमण्डलस्तरीय भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशंकरबीच विगतमा दुई देशबीच भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयन बारेमा समेत छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले राष्ट्रपति भवनको प्रांगणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

प्रधानमन्त्री दाहालले आइतबार साँझ आफ्ना समकक्षी मोदीसँग तथा सोमबार बिहान राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका थिए। 

प्रधानमन्त्री दाहाल शपथग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली प्रस्थान गरेका थिए। उनका साथमा छोरी गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी रहेका छन्। प्रधानमन्त्री दाहाल आजै स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।