बेरुजु फर्स्योटमा देखिएका समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

बेरुजु फर्स्योट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्ने कार्यमा देखिएका समस्या समाधानका लागि निर्देशन दिइएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

काठमाडौँ– संघीय प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु फर्स्योट तथा सरकारी बाँकी सरह असुलउपर गर्ने काम प्रभावकारी नभएकाले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएको छ।

बेरुजु फर्स्योटको अवस्था र समस्या समाधानका लागि अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयसँग समितिले सोमबार छलफल गरेको थियो। छलफल तथा बैठकमा बेरुजु फर्स्योट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्न देखिएका समस्या समाधानका लागि निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

“देशमा बेरुजु क्रमशः बढोत्तरी हुँदै गइरहेको छ भने आर्थिक वर्ष २०५९/६० सम्मका बेरुजुको लगतकट्टा तथा सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने काम अझै बाँकी रहनुले हाम्रो विगत, वर्तमानको आर्थिक सुशासन र वित्तीय अनुशासनको अवस्था चित्रित गर्दछ,” सभापति पोखरेलले भने, “पुराना असुलउपर गर्नुपर्ने बेरुजुलाई निश्चित समयभित्रै फर्स्योट नगरे आगामी दिनमा बेरुजुको आयतन बढ्ने निश्चित छ।”

बैठकले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्थापन गर्न र आवश्यक पर्ने जनशक्ति थप गरी तत्काल संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न/गराउन निर्देशन दिएको छ।

बेरुजु फर्स्योट समितिको सचिवालयको रुपमा समेत केन्द्रीय तहसिल कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्य शीघ्र तोक्न र समितिको कार्यालय तत्काल व्यवस्थापन गर्न समितिले निर्देशन दिएको हो। असुलउपर गर्नुपर्ने पुराना अभिलेख सुरक्षित राख्नुपर्ने र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय भाडामा रहेकोले यस्ता अभिलेख संरक्षण गर्न चुनौती हुने समितिले जनाएको छ। कार्यालयलाई शीघ्र सरकारी खाली भवन उपलब्ध गराउनसमेत समितिले सरकारलाई निर्देशन दिएको छ।

समितिको सोमबारको बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्दासमेत सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षमा त्रुटि रहेको भन्ने विषयमा दुई वटा टोली बनाइ अध्ययन गर्ने निर्णय गरेको छ।