भित्रियो यस वर्षको मनसुन प्रणाली

कोशी प्रदेशको पूर्वी भू–भाग हुँदै मनसुन प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

काठमाडौँ– यस वर्षको मनसुन प्रणाली पूर्वी भू–भाग हुँदै नेपाल प्रवेश गरेको छ। कोशी प्रदेशको पूर्वी भू–भाग हुँदै मनसुन प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो भित्रिएको महाशाखाको भनाइ छ।

नेपालको अन्य भू–भागमा केही दिनमा क्रमिक रूपमा मनसुन विस्तार हुने अनुमान महाशाखाको छ।

आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा कोशी र मधेश प्रदेश बढी प्रभावित हुने अनुमान गरेको छ। तेस्रोमा लुम्बिनी प्रभावित हुने प्राधिकरणको अनुमान छ।

महाशाखाका अनुसार सोमबार नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ। कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको, बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

यता, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ।