प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा २ शिक्षक पक्राउ

प्रश्नपत्रको गोपनीयता भंग तथा परीक्षाको मर्यादा विपरीत कार्य गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई काठमाडौँबाट पक्राउ गरेको छ।

काठमाडौँ– प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बागलुङको ग्वालीचौर–८ घर भई ललितपुर–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौँ–१६ बस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय विकास ज्ञवाली छन्। प्रश्नपत्रको गोपनीयता भंग तथा परीक्षाको मर्यादा विपरीत कार्य गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डबाट गत वैशाख १४–२६ मा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो। परीक्षा चलिरहेकै बेला काठमाडौँका केही परीक्षा केन्द्रमा परीक्षार्थी, विभिन्न विद्यालयका शिक्षकसमेतले परीक्षाको गोपनीयता र मर्यादा भंग हुने गरी प्रश्नपत्र ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, भाइबरमा ग्रुप बनाए प्रश्नपत्र तथा उक्त प्रश्नपत्रको उत्तरहरू आदानप्रदान गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो। त्यसपछि प्रहरीले उक्त कार्यमा संलग्न रहेकाहरूको खोजी शुरू गरेको थियो।

सोही क्रममा दुवै जनालाई सोमबार टेकु चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध प्रहरीले‍ शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको छ।