गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद एक र नेसपाका फणीन्द्र देवकोटाले मत दिए।

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ। गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। 

मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ। प्रस्तावको पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको थियो भने विपक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २२ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का छ प्रदेशसभा सदस्यको मत परेको थियो।

विश्वासको पक्षमा मतदान गरेका देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रदेशसभा सदस्य हुन्। उनी गत प्रदेशसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए।

देवकोटाले विश्वासको मतका पक्षमा मतदान गरेपछि गरेपछि प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सदस्यले नाराबाजी गरेका थिए।