राष्ट्र बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ भने एक वर्षभन्दा बढी समयका लागि वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३७ हजार ८९३ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख २१ हजार २७९ र दुई लाख ३८ हजार ९७६ थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब एक अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको छ। एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो।
विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ वैशाख मसान्तसम्ममा १३.८ प्रतिशतले वृद्धि भई दुई खर्ब २० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ। गत वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
गत वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४ प्रतिशत बराबर छ । त्यस्तै, कुल आयातसँगको अनुपात एक सय पाँच दशमलव तीन र विस्तृत मुद्राप्रदायसँगको अनुपात २९.२ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको छ। त्यस्तै, गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आयात २.४, निर्यात ३.६ र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ।
गत वैशाख मसान्तसम्ममा नेपाल सरकारको खर्च १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ र राजस्व परिचालन आठ खर्ब ३१ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। यो अवधिसम्मको विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
