सरोकारवालाले नीतिगत सुधार र कानूनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा १० वर्षमा ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताएका छन्।
काठमाडौँ– सरोकारवालाले सूचना प्रविधि क्षेत्रबाट १० वर्षमा ३० खर्बको सरकारी लक्ष्य पूरा गर्न नीतिगत सुधारसँगै पूर्वाधार निर्माण र ठूलो संख्यामा दक्ष जनशक्ति तयार पार्नुपर्ने औँल्याएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार आयोजना गरेको ‘सूचना प्रविधि दशक र आगामी कार्यदिशा’ विषयक कार्यक्रमका वक्ताले नीतिगत सुधार र कानूनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताएका हुन्।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने उल्लेख गरेको छ। सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने उल्लेख गरेको छ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सर्वांगीण विकास केन्द्र (आईआईडीएस)का परामर्शदाता डा. अमृता शर्माले सरकारी लक्ष्य पूरा गर्न दक्ष जनशक्ति र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताइन्। उनले हाल नेपालमा वार्षिक १० हजार आईटी जनशक्ति उत्पादन भइरहेको र एक खर्बको सेवा निर्यात भइरहेको जनाइन्।
“आईटी दशकका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण आवश्यक छ र सरकार व्यवसाय प्रवर्द्धक र संवर्द्धकका रूपमा बस्नुपर्दछ,” उनले भने। परराष्ट्र मन्त्रालयले टेक डिप्लोमेसी गर्नुपर्ने आवश्यकता रहेको बताउँदै नेपालको प्रविधि उद्योगलाई विश्वभरि पुर्याउन दूतावासले पनि भूमिका खेल्नुपर्ने उनको धारणा रहेको छ।
अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सूचना प्रविधि दशकको घोषणा महत्त्वाकांक्षी लक्ष्य नभई आईटीमा भइरहेको प्रगतिले गर्दा योजना बनाइएको बताए। आईटीका एक्सपर्ट र उद्यमीसँग छलफल गरेर ल्याएको योजना भएकाले यो लक्ष्य प्राप्त गर्न सहज हुने उनको भनाइ छ।
लोटस होल्डिङसका प्रमुख कार्यकारी अधिकृत अजित विक्रम शाहले यो लक्ष्य हासिल गर्न १० वर्ष पनि नलाग्ने आफ्नो आकलन रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघका लगानी तथा अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष मनोज पौडेलले हाल वार्षिक आईटी सेवा १६.८९ प्रतिशतले वृद्धि भइरहेको बताउँदै लक्ष्य हासिल गर्न ३६ प्रतिशत वृद्धि आवश्यक रहेको बताए।
किम्बु टेकका प्रमुख कार्यकारी अधिकृत कर्भिका थापाले सूचना प्रविधि दशकलाई सफल पार्न गाउँ–गाउँमा जनचेतना जागृत गर्नुपर्ने र प्रत्येक विद्यालयमा कम्प्युटर राख्ने मात्र नभई चलाउन प्रोत्साहन गरिनुपर्ने आवश्यकता रहेको औँल्याइन्। भूराजनीतिक स्थितिले गर्दा विदेशीको आकर्षणको केन्द्रको रूपमा नेपाल रहेको र छोरीलाई आईटीमा विज्ञ बनाई नेपालमा बसेर विदेशको काम गर्ने वातावरण आईटी दशकले बनाउने विश्वास प्रकट उनले गरिन्।
कार्यक्रममा अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत १० वर्षमा ३० खर्ब रुपैयाँको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्न सरकारले नीतिगत निर्णय गरी उद्योगलाई संरक्षण र प्रवर्द्धन गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको बताए। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आईटी दशकको लक्ष्यमा पुग्न मन्त्रालयको नेतृत्वमा कार्यदल गठन गरिने स्पष्ट पार्दै हरेक वर्ष गर्नुपर्ने क्रियाकलापको स्पष्ट खाका कोरिने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
