भरत ताल निर्माण गर्दा अनियमितता, बागमतीका नगरप्रमुख भरत थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड रुपैयाँ अनियमितता गरेको आरोपमा बागमतीका नगरप्रमुख भरत थापासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।

काठमाडौँ– सर्लाहीको बागमती नगरपालिकामा भरत ताल निर्माणका क्रममा अनियमितता गरेको आरोपमा नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर भएको छ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल निलम्बित अवस्थामा रहेका थापासहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको हो। यसअघि थापाविरुद्ध पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले मुद्दा दायर गरेपछि उनी पदबाट निलम्बित छन्।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगरप्रमुख थापा र उपप्रमुख मुक्तानबाहेक, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समिति, सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि आरोप–पत्र दायर भएको छ।  

उनीहरूविरुद्ध भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको आरोप छ। अनुसन्धानका क्रममा उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ सरकारी सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। अख्तियारले उनीहरूविरुद्ध सो रकम बराबर बिगो, कैद र जरिबानाको सजाय मागदाबी लिएको छ।

यो पनि : 

फिल्म ‘मेयर’को क्लाइमेक्स छायांकन नहुँदै असली मेयर अख्तियारको फन्दामा
फर्जी मतदाता खडा गरेर मेयर बनेका थिए भरत थापा