अरुण तेस्रोका मजदुर सुतिरहेको स्थानमा पहिरो: १ जनाको मृत्यु, २ घाइते

अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

खाँदबारी– संखुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। 

मंगलबार राति अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा मकवानपुरका उमेश कार्की र गोविन्द थारु छन्। 

उनीहरू राति सुतिरहेका बेलामा पहिरो खसेर पुरेको थियो। जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्।