कर्णालीको झोलुंगे पुल तत्काल मर्मत गर्न माग

सांसद सीताकुमारी रानाले झोलुंगे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताएकी छन्।

काठमाडौँ– प्रतिनिधिसभाको बुधबारको बैठकमा कर्णाली नदीको झोलुंगे पुल तत्काल मर्मत गर्न माग गरिएको छ।

पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको विषय संसद्‌मा उठेको छ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सीताकुमारी रानाले झोलुंगे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताइन्।

आइतबार कर्णालीको झोलुंगे पुलको लट्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए। सांसद रानाले पुल तुरुन्तै मर्मत नगरे मानवीय दुर्घटना हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

“सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ,” उनले भनिन्, “होइन भने प्राकृतिक प्रकोपले स्थिति झनै नाजुक हुन सक्छ। कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस्।”