कुवेतमा कामदार रहेको भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु, धेरैजसो भारतीय

आगलागीमा भारतीयबाहेक अन्य देशका नागरिक  परे/नपरेको बारे अहिलेसम्म केही जानकारी आएको छैन।

कुवेतमा विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै घाइते भएका छन्। कुवेतको मंगाफ क्षेत्रमा रहेको ६ तले उक्त भवनमा भएको आगलागीमा पर्नेमध्ये अधिकांश भारतीय रहेका बीबीसीले जनाएको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बीबीसीलाई दिएको जनाकारीअनुसार अहिलेसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये अधिकांश भारतीय नागरिक छन्। कुवेतका लागि भारतीय राजदूतले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। मृत्यु भएकामध्ये चार तथा घाइतेमध्ये ३५ जना भारतीयको पहिचान भइसकेको उनले जनाएका छन्। 

भवनको भान्छाबाट आगलागी भएको अधिकारीहरूले बताएका छन्। कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए। आगलागीको समयमा भवनमा १७० जना कामदार रहेको बताइएको छ।

कुवेतका आन्तरिक मन्त्री फहद युसेफ अल सबाहले घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै घरधनीको लोभले यो घटना निम्तिएको बताएका छन्। त्यसैले सम्भावित लापरबाहीको जाँचका लागि घरधनीलाई पक्राउ गरिएको छ।

मंगाफ आप्रवासी श्रमिकहरूको बाक्लो बसोबास भएको क्षेत्र हो। कुवेतमा नेपाली श्रमिक पनि कार्यरत छन्। तर यस आगलागीमा भने भारतीयबाहेक अन्य देशका नागरिक  परे/नपरेको बारे अहिलेसम्म केही जानकारी आएको छैन।

इराक र साउदी अरबको सीमामा रहेको तथा विश्वको करिब सात प्रतिशत तेल भण्डार रहेको कुवेतमा देखिएको यो आगलागी सबैभन्दा भीषण आगलागीमध्ये एक हो। 

आफ्ना पतिले अर्को विवाह गरेको भन्दै बदला लिन सन् २००९ मा एक कुवेती महिलाले विवाह भोजमा पालमा आगजनी गर्दा ५७ जनाको मृत्यु भएको थियो। मानिसहरू भित्र खुशीयाली मनाइरहँदा नुसरा अल–एनेजीले पालमा पेट्रोल फ्याँकेर आगो लगाएकी थिइन्। उक्त अपराधका लागि सन् २०१७ मा उनलाई मृत्युदण्ड दिइएको थियो।