दुर्लभ चराको बासस्थान बन्यो रेसुंगा र मदाने

पछिल्लो पटक गरेको चरा गणनाअनुसार रेसुंगा वन क्षेत्रमा २५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा फेला परेका तथ्यांक छ।

गुल्मी– नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुंगा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा रहेका जानकारी दिए।

उनका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये ६ प्रजातिका चरा पाइन्छ। नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डंगर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरूको बासस्थान बनेको उनले बताए।  

यहाँ नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि फेला परेको छ। पक्षी संरक्षण संघले पछिल्लो पटक गरेको चरा गणनाअनुसार रेसुंगा वन क्षेत्रमा २५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा फेला परेका तथ्यांक छ। समग्र यहाँका वनमा ३०५ प्रजातिका चरा भेटिएका र यो संख्या नेपालमा पाइने चरा प्रजातिको संख्याअनुसार ३५ प्रतिशत रहेको जनाइएको छ। 

समुन्द्र सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको यो क्षेत्र पर्यावरणीय र जैविक विविधताले पनि भरिपूर्ण मानिन्छ। यहाँ पाइने सयौँ प्रकारका वनस्पतिले अतिसंकटापूर्ण अवस्थामा रहेका चराको बासस्थानलाई जोगाउन मद्दत पुर्‍याएको छ। 

संघले गुल्मीको रेसुंगा र गुल्मी दरबारमा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराहरूको खोजी गर्दै आइरहेको छ। यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जंगलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनमा टेवा पुर्‍याउने गतिविधि सञ्चालन गरिरहेको छ। 

यहाँ दुर्लभ प्रजातिका चरा भए पनि तिनको संरक्षणका लागि उपयुक्त बासस्थान र खानेपानी अभाव मुख्य चुनौतीका रूपमा रहेको जानकारहरू बताउँछन्। त्यसका अतिरिक्त वन डढेलोका कारण दुर्लभ चराहरू संरक्षणमा थप चुनौती थपिएको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेको भनाइ छ। “जिल्लामा चरा पर्यटन क्षेत्रको प्रचुर सम्भावना छ। यिनको विकास र संरक्षणले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ। त्यसैले  यहाँको वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय सरकार र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ,” पाण्डेले भने। 

पछिल्लो समयमा वन डढेलो, विद्युतीय प्रसारण लाइन, खानेपानीको अभाव र वन्यजन्तु एवं चराचुरुंगीहरूको अवैध चोरीशिकार आदिका कारण चरा पनि संकटापन्न अवस्थामा रहेका छन्। नेपाल पक्षी संरक्षण संघले विगत ६ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा गणना र संरक्षणका क्षेत्रमा काम गरिरहेको छ।