कुवेतमा भएको आगलागीमा परेर ३ जना नेपाली सामान्य घाइते

४० जनाभन्दा धेरै कामदारको मृत्यु हुने गरी भएको आगलागीमा ३ जना नेपाली पनि घाइते भएका छन्। तीनै जनाको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ।

काठमाडाैँ–  कुवेतमा विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहान लागेको आगलागीमा परेर तीन जना नेपाली पनि घाइते भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा आगलागी हुँदा घाइते भएका नेपाली श्रमिकको विषयमा त्यहाँस्थित नेपाली दूतावासमा सम्पर्क गरेर जानकारी लिएका छन्। दूतावासले आगलागी भएको क्याम्पमा पाँच जना नेपाली श्रमिक रहेका र तीमध्ये दुई जना सुरक्षित भएको कम्पनीले जानकारी दिएको जनाएको छ। बाँकी  तीन जना सामान्य घाइते भएका छन्।

आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भैरहेको छ। उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ। दिनेशकुमार मंडलको भने फरवानिया अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज  भैसकेको दूतावसाले जनाएको छ । त्यस्तै, जाकिर नाडाफ र सन्तोषकुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाइ छ।

उक्त आगलागीमा परेर ४० जनाभन्दा धेरैको मृत्यु भएको छ भने ५० भन्दा धेरै घाइते भएका छन्। आगलागी भएको भवनमा भारतीय नागरिक धेरै रहेको बताइएको छ। मृत्यु र घाइते हुनेमा पनि अधिका‌ंश भारतीय नागरिक नै रहेका बीबीसीले जनाएको छ।