संखुवासभामा पहिरोले ३ घर बगायो, ९ परिवार विस्थापित

बुधबार राति वर्षासँगै गएको पहिरोले संखुवासभाको खाँदबारी नगरपालिकामा तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्।

किमाथांका– संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ। बुधबार राति वर्षासँगै गएको पहिरोले तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए। 

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। लामिछानेका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन्। 

खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए। चिचिला गाउँपालिका–१ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका छन्। अन्य स्थानको बाढी पहिरोको क्षतिबारे विवरण संकलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए। 

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ। 

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ।