विनियोजन विधेयकअन्तर्गत तीन वटा मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव पेश भएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीन वटा मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव पेश भएका छन्।
बिहीबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ। प्रतिनिधिसभामा छलफलका क्रममा यी तीन मन्त्रालयको खर्च कटौतीका आठ वटा प्रस्ताव परेका हुन्।
बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव गरेका छन्। उद्योग मन्त्रालयका पदाधिकारी र कर्मचारीका लागि विभिन्न भत्ता शीर्षक कायम गरेर आर्थिक अनुशासन उल्लंघन गरिएको उनको भनाइ छ। चालु खर्च बढाउने गरी विभिन्न भत्ता शीर्षक कायम गरिएकाले खर्च कटौतीको प्रस्ताव पेश गरेको उनले संसद्मा बताए।
उद्योग मन्त्रालयअन्तर्गतका विभिन्न क्रमागत आयोजनासमेतलाई बजेट नराखेर नतिजा दिन नसक्ने प्रकृतिका योजना र कार्यक्रम परेको सांसद बडूले बताए। रुग्ण र बन्द अवस्थामा रहेका उद्योग व्यवस्थापनको विषय बजेटको प्राथमिकतामा नपरेको र पर्याप्त बजेटसमेत विनियोजन नभएको उनले बताए।
सांसद डा. अमरेशकुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्।
राजनीतिक अस्थिरताका कारण सरकार र शासन व्यवस्थाप्रति नागरिकको गुनासो बढ्दै गएको सिंहले बताए। आगामी आर्थिक वर्षको बजेटले आन्तरिक वस्तु उत्पादनलाई प्रवर्द्धन र बजारीकरणमा सघाउन नसकेको उनले आरोप लगाए। विभिन्न वस्तु तथा सेवा मुलुकभित्र उत्पादन हुन सके मात्र आर्थिक समृद्धि हासिल गर्न सम्भव हुने उनको भनाइ छ।
संशोधनबिना सत्तापक्षले बजेट पारित गर्ने भएकाले संसद्मा विनियोजन विधेयकमाथि छलफल गर्नुको तात्त्विक अर्थ नरहेको सांसद सिंहले बताए। नागरिकको स्वास्थ्यसम्बन्धी हक प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै बजेटको समेत प्राथमिकतामा नरहेको उनको भनाइ छ।
सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव गरेका छन्।
विदेशी पुँजीमा आश्रित हुने नभई आन्तरिक पुँजी सिर्जना र लगानीबाट अर्थतन्त्र सबल बनाइनुपर्ने सांसद सुवालले बताए। काठमाडौँ उपत्यकाभित्रका औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर्न ढिलाइ भएको विषयमा उनले संसद्को ध्यानाकर्षण गराए।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा कर्मचारीले व्यापारीसँग घुस माग्ने गरेको गुनासो आएकाले यसबारे सरकार र सरोकार भएका निकाय गम्भीर हुनुपर्नेमा सांसद सुवालले जोड दिए। विशेष आर्थिक क्षेत्र (सेज)को निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने र सबै पालिकामा सहुलियत पसल खोलिनुपर्ने माग उनले राखे।
सीमा नाकाको विवाद व्यवस्थापन गरिनुपर्ने, भूमिसम्बन्धी समस्या समाधान गरिनुपर्ने, भूमिहीन सुकुमबासीलाई तत्काल भूमि उपलब्ध गराउनुपर्ने सांसद सुवालको माग छ। स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि बजेटले स्पष्ट योजना ल्याउन नसकेको पनि उनले बताए।
सांसद बिना लामाले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेकी छन्।
उद्योग र निर्माण क्षेत्रको वृद्धिदर नकारात्मक रहेको अहिलेको अवस्थामा यी क्षेत्रलाई चलायमान हुने गरी बजेट आउन नसकेको सांसद लामाले बताइन्। आन्तरिक लगानी खुम्चिएको र प्रतिबद्धताअनुसार बाह्य लगानी प्राप्ति नभइरहेको अवस्थालाई गम्भीर रूपमा लिइनुपर्ने उनको भनाइ छ।
औद्योगिक पूर्वाधार निर्माण गर्न विभिन्न स्थान तय भइसकेको अवस्थामा तिनलाई अघि बढाउन छाडेर सरकारले नयाँ योजना अघि सारेको सांसद लामाले उल्लेख गरिन्। मुलुकभित्र विभिन्न स्थानमा रहेका खनिजजन्य खानी उत्खननलाई बजेटले प्राथमिकतामा राख्न नसकेको उनले दाबी गरिन्। गुठी व्यवस्थापनसम्बन्धी समस्या अझै समाधान हुन नसकेको उनको भनाइ छ।
सांसद रुपा विकले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रतिनिधिसभामा राखिन्।
उक्त मन्त्रालयको बजेट शीर्षकमा मन्त्रालयका पदाधिकारी र कर्मचारीका लागि अनावश्यक भत्ता उपलब्ध गराउने गरी रकम विनियोजन भएकाले खर्च कटौतीको प्रस्ताव पेश गरेको सांसद विकको भनाइ छ। सहकारी क्षेत्रका देखिएका समस्या समाधानका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमिका कमजोर देखिएको उनले बताइन्।
सहकारी संस्थाको प्रभावकारी अनुगमन आवश्यक रहेको अहिलेको अवस्थामा त्यसका लागि पर्याप्त बजेट विनियोजन नभएको सांसद विकले दाबी गरिन्। भूमिहीन र सुकुमबासीका अधिकार प्रत्याभूति गर्न बजेट केन्द्रित हुन नसकेको उनको भनाइ छ।
योजनाबिना नै जग्गाको वर्गीकरण भइरहेको र कृषियोग्य जमिन तीव्र रूपमा प्लटिङ भइरहेकोप्रति उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन्। स्वास्थ्य क्षेत्रमा पूर्वाधार, जनशक्ति र औषधिको अभाव रहेको भनेर जनगुनासो आइरहे पनि सरकारले बजेटको प्राथमिकतामा राख्न नसकेकाले आफूले खर्च कटौतीको प्रस्ताव पेश गर्नुपरेको विकले बताइन्।
सांसद ज्ञानबहादुर शाहीले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्। भूमिको वैज्ञानिक र प्रभावकारी व्यवस्थापन हुन नसक्दा खालिरहेका ठाउँमा मानवबस्ती बनेको, कृषि उत्पादन फल्ने ठाउँमा अव्यवस्थित सहरीकरण भइरहेकालगायत समस्या बढ्दै गएको उनले बताए।
नेपालमा कृषियोग्य उत्पादनबाट प्रशस्त आर्थिक लाभ लिन सक्ने सम्भावना रहे पनि त्यसलाई सरकारले प्राथमिकतामा राख्न नसक्दा नेपालको श्रमशक्ति बिदेसिनुपरेको र विदेशबाट वस्तु आयात गरेर खपत गर्नुपर्ने अवस्था आएको सांसद शाहीले बताए। नेपालको व्यापार घाटा बर्सेनि बढिरहेको उल्लेख गर्दै उनले मुलुकभित्रका उत्पादनका क्षेत्र पहिचान गरी लगानी केन्द्रित गर्न सक्नुपर्ने बताए।
प्रतिनिधिसभा सदस्य शान्ति विकले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन्। नेपालमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर बढाउन अत्यावश्यक रहे पनि आगामी आर्थिक वर्षको बजेटले त्यसलाई प्राथमिकतामा राख्न नसकेको उनले बताइन्।
सरकारले कार्यान्वयन गरेको स्वास्थ्य बीमा कार्यक्रम केही हदसम्म प्रभावकारी देखिए पनि पर्याप्त नभएको सांसद विकले बताए। स्वास्थ्य बीमाको दुरुपयोग भइरहेको उनको भनाइ छ। विभिन्न देशमा स्वास्थ्य सेवा पनि करद्वारा वित्त पोषित हुने र निःशुल्क रहेको बताउँदै उनले नेपालमा पनि स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताइन्।
भूमिहीन तथा सुकुमबासीका समस्या हल गर्न र सहकारी क्षेत्रको समस्या समाधान गर्न पनि सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा सांसद विकले जोड दिइन्।
सांसद रोशन कार्कीले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन्। बिहबारको बैठकमा उनले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई बजेटमा राखिएका विषयहरूलाई अध्ययन गर्न र त्यसको गम्भीर समीक्षा गर्नसमेत आग्रह गरिन्।
महिला, ग्रामीण र पिछडिएका क्षेत्र लक्षित स्वास्थ्य कार्यक्रम आउन नसकेको सांसद कार्कीको भनाइ छ। राज्यबाट प्राप्त हुने स्वास्थ्य सुविधा आर्थिक रूपमा विपन्न र पिछडिएको क्षेत्रलाई लक्षित गरी कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिइन्। महिलाको पाठेघर र स्तनको क्यान्सरको समस्या विकराल हुँदै गएको विद्यमान अवस्थामा त्यसको समाधानका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको सांसद कार्कीले बताइन्।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १४६ मा खर्च कटौतीको प्रस्तावसम्बन्धी व्यवस्था रहेको छ। नियमावलीमा ‘कुनै शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’, ‘कुनै शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’, वा ‘कुनै शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भन्ने प्रस्ताव मात्रै पेश गर्न सक्ने प्रावधान छ।
‘शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई शीर्षकमा निहित नीतिमाथि असहमति प्रकट गर्न प्रस्तुत गरिएको मानिन्छ भने ‘शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई मितव्ययिता अवलम्बन गर्न प्रस्तुत गरिएको मानिन्छ।
‘शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई नेपाल सरकारको जबाफदेहिताभित्रको विषयमा प्रस्तावक सदस्यलाई चित्त नबुझेको विषय प्रकट गर्न प्रस्तुत गरिएको सांकेतिक कटौतीका प्रस्ताव मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
