नेप्से परिसूचक ९.३२ अंकले घट्यो, करिब साढे ६ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा कायम हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा कायम भएको हो।

यस दिन परिसूचक घटे पनि कारोबार रकम बढेर करिब साढे ६ अर्ब रुपैयाँ बराबर पुगेको छ। बिहीबार एक करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। 

बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा कायम हुँदा एक करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर पाँच अर्ब ८९ करोड ४० लाख रुपैयाँमा किनबेच भएको थियो। यसअघि मंगलबार एक करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार विकास बैंक र फाइनान्सबाहेक सबै उपसमूह घट्दा परिसूचक प्रभावित भएको हो। फाइनान्स २.०३ र विकास बैंक उपसमूह १.३१ प्रतिशतले बढेका छन्। ९४ कम्पनीको शेयर मूल्य बढ्दा समृद्धि फाइनान्स र कुथेली बुखारी साना जलविद्युत‍्को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। राष्ट्र बैंकबाट मर्जरमा जान स्वीकृति पाएको साधना लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ। सप्तकोशी विकास बैंक, बाराही हाइड्रोपावर पनि शेयर मूल्य उल्लेख्य बढेका कम्पनीको सूचीमा छन्।

सर्वाधिक कारोबार हुने कम्पनी नेपाल फाइनान्सको २८ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस्तै, साताको पाँचौँ दिन भने एनआरएन इन्फ्रास्ट्रक्चर बढी कारोबार हुने कम्पनीको सूचीमा दोस्रो नम्बरमा परेको छ। उक्त कम्पनीको २० करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। समृद्धि फाइनान्सको १७ करोड ५६ लाख, साधना लघुवित्तको १२ करोड ९९ लाख र सीईडीबी हाइड्रोपावरको १२ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। 

१४७ कम्पनीको शेयर मूल्य घट्दा मध्य सोलु हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक नोक्सानमा रहे। उक्त जलविद्युत् कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर, एनआरएन इन्फ्रस्ट्रक्चर, कुमारी धनवृद्धि योजना, महुली लघुवित्तलगायतको शेयर मूल्य घटेको छ।