चितवनबाट विस्थापित हुँदै रेशमखेती

चितवनको माडी क्षेत्रका किसानहरू रेशमखेती छाडेर तरकारीबालीतर्फ आकर्षित भएका छन्।

चितवन– पछिल्लो समय जिल्लाका किसान तरकारीखेतीतर्फ आकर्षित हुन थालेपछि रेशमखेती विस्थापित हुँदै गएको छ । केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रूपमा रेशमखेती हुनेमा अहिले यहाँका किसान उक्त पेसाबाट विस्थापित भएका हुन् । 

किम्बू नर्सरी विकास केन्द्र भण्डारा चितवनकी कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीले माडी क्षेत्रमा पहिला सहकारी र संस्था दर्ता गरेर रेशमखेती गरिने गरिएकामा अहिले किसान यस पेसाबाट पलायन हुँदै तरकारीबालीतर्फ आकर्षित भएका बताइन्। “रेशमखेतीका लागि लामो समय लाग्ने र व्यवस्थापन झन्झटिलो हुने भएकाले किसानले पेसा परिवर्तन गरेका हुन्,” उनले भनिन्।

केन्द्रले अहिले व्यावसायिक रूपमा कोया उत्पादन गर्न छोडेको क्षेत्रीले बताइन्। कोया उत्पादन गरेर निजी क्षेत्रलाई दिनुपर्ने तथा बजार समस्या हुँदा व्यावसायिक रूपमा उत्पादन गर्न छोडेको उनको भनाइ छ। शुरूमा मकवानपुर र चितवनमा रेशमखेतीको प्रशस्त उत्पादन भए पनि अहिले उत्पादन घट्दै गएको उनले जानकारी दिए।

नेपालमा उत्पादित रेशम धागोको बजारीकरण नहुँदा व्यवसायी पलायन भएका प्रमुख क्षेत्रीले बताइन्। “बाहिरबाट रेशमको धागो आयात हुन्छ। यहाँको धागोको पहिचान हुँदैन। बजार अभाव हुँदा पेसा नै संकटमा परेको छ,” उनले भनिन्। बजार व्यवस्थापनमा समस्या हुँदा लामो समयसम्म कुर्नुपर्ने र राम्रो उत्पादन भए पनि बिग्रने हुँदा यसतर्फ किसानको आकर्षण घटेको उनको भनाइ छ।

जिल्लामा रेशमखेती गर्ने किसान अहिले छिटो आम्दानी हुने नगदेबालीतर्फ आकर्षित भएका क्षेत्रीले जानकारी दिइन्। “अहिले केन्द्रमा उत्पादित किम्बूका बिरुवा २० प्रतिशत पनि रेशम खेतीका लागि जान मुस्किल छ,”  उनले भनिन्। उनका अनुसार केन्द्रले यस वर्ष पाँच लाख बिरुवा उत्पादन गरेको छ। 

अहिले गर्मी बढेकाले चार लाखसम्म बिक्री गर्ने योजनामा केन्द्र रहेको प्रमुख क्षेत्रीले बताए। उनका अनुसार करिब ६ हेक्टर क्षेत्रफलमा किम्बू नर्सरी उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित किम्बूका बिरुवा सिन्धुली, गोरखा, काठमाडौँलगायत जिल्लामा जाने गरेको उनले बताए।