लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिबाना

विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

काठमाडौँ– विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका भट्टराईलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार ६ वर्ष कैदसँगै ८० लाख जरिबानाको सजाय निर्धारण गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत्र २५ गते भट्टराईविरुद्ध आरोप पत्र दायर गरेको थियो। भक्तपुरमा खरिद गरेको जग्गाको रकम लेनदेन गर्दा कोषमा ठेक्कापट्टाको जिम्मा लिने निर्माण कम्पनीबाट गैरकानूनी रूपमा ८० लाख रुपैयाँ लिएको अख्तियारको ठहर थियो।

अख्तियारको अनुसन्धानका क्रममा ‍भक्तपुरको सूर्यविनायक–७ मा २ रोपनी ९ आना र २ आना १ दाम क्षेत्रफल भएको जग्गा किन्ने प्रयोजनका लागि निर्माण कम्पनीका तर्फबाट ४०/४० लाख रुपैयाँ उनको छुट्टाछुट्टै खातामा जम्मा भएको भेटिएको थियो। त्यसपछि अख्तियारले उनीविरुद्ध आरोप पत्र दायर गरेको थियो। उनीविरुद्ध अख्तियारको बिगोबमोजिम कारबाहीको मागदाबी विशेष अदालतबाट ठहर भएको हो।