आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
ओली-बालेन वाकयुद्ध
अघिल्लो हप्ता मतगणना, अग्रता, अंकगणित, दावी-प्रतिदावी, आरोप-प्रत्यारोप, आदिको रापले तातिएको माहौल सेलाउन नपाउँदै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको वाकयुद्धले फेरि गरमाएको छ।
काठमाडौं महानगरपालिकाले एकीकृत बागमती सभ्यता विकास समितिसँग समन्वय गरेर सोमबार सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेपछि चर्किरहेको विवादका सन्दर्भमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका थिए।
मंगलबार एमालेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भनेका थिए, "फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।"
उनले "सुकुम्वासी बस्तीमा तमासा गर्ने हाकिमका भनाइ सुन्दा, पुलिसले हामीलाई मद्दत नै गरेन, नत्र हामी जित्थ्यौँ। तिनहरूलाई पराजित गरेर त्यो बस्ती ध्वस्त गर्थ्यौं। के के न बहादुरी गरेको जस्तो, कुनै शत्रु देशसँग लडाई गरेको जस्तो भाषा, शैली, तरिका, कुरा? खोलाको छेउमा चुप लागेर बसेका गरिब जनतालाई ठेगान लगाएर कुन बहादुरी पाइन्छ? यो जीत र हारको कुरा हैन, समस्या समाधानको कुरा हो," भनेको भिडियोले निकै नै चर्चा पाएको थियो।
ओलीको वक्तव्यको प्रत्युत्तरमा महानगर प्रमुख शाहले मंगलबार सामाजिक सञ्जालमार्फत ओलीलाई पटक-पटक मन्त्री र दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुँदा पनि सुकुम्वासीले भोगेको ३२ वटा जाडो नदेखेको, सुकुम्वासीहरूलाई 'भोट बैंक' मात्रै ठानेको आरोप लगाए।
"२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँका सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन। मन्त्री र पटक पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन। सुकुम्वासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे। बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो। त्यो पनि राजनीतिक स्वार्थवश। तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन," उनले लेखेका थिए।
अब परिस्थिति फेरिएको र सके सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नु भनेर उनले ओलीलाई चेतावनी पनि दिएका छन्।
अर्कोतर्फ, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शाहले स्थानीय निकायको निर्वाचन ताका थापाथली/धोबीघाट वरपरको सुकुम्वासी बस्तीमा वाचा गर्दै भोट मागेको भिडियो पोस्ट गर्दै सुकुम्वासी आखिर सबैका लागि भोट बैंक मात्र रहेको भनेका छन्।
"अरुलाई भन्न सिकाउन सजिलै हुन्छ"
— Bisesh Sangat (@BiseshSangat) November 30, 2022
यस्तो भेटेर भनेको है। pic.twitter.com/AwyQL4rtQ9
महानगरले सरोकारवाला सरोकारवाला निकायसँग समन्वय गरेर सुकुम्वासी बस्ती हटाउने
राज्यका विभिन्न तहबीच तालमेल नगरी व्यवस्थापन गर्न खोज्दा चर्किएको सुकुम्वासी बस्ती विवाद उत्कर्षमा पुगेपछि काठमाडौँ महानगरपालिका सुकुम्वासी समस्याबारे सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने भएको छ। बुधबार महानगर कार्यालयका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा बसेको बैठकले सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको हो। महानगरले आज बिहान महानगरपालिकाका सबै वडाध्यक्षहरूसँग यस विषयमा छलफल गरेको थियो।
महानगरले बल प्रयोग गरी डोजर लगाएको भन्दै बस्ती पुगेको टोलीमाथि ढुंगामुडा गरेका सुकुम्वासीले त्यसलगत्तै आन्दोलन थालेका थिए। नगर प्रहरी र बस्तीका बासिन्दाबीच झडप भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको थियो।
महानगरले अब राष्ट्रिय भूमि आयोग, सहरी विकास मन्त्रालय, उपत्यका विकास प्राधिकरण, राष्ट्रिय भूमि आयोग, काठमाडौं महानगरपालिका, वाग्मती सभ्यता, सम्बन्धित वडा कार्यालय, सुकुम्बासी मोर्चा, सुकुम्बासी बासिन्दालगायत निकायसँग सहकार्य गरेर अगाडि बढ्ने बताएको छ।
जबरजस्ती सुकुम्वासीलाई हटाउन नहुने भन्दै भूमि आयोगले गरेको पत्राचारलाई बेवास्ता गर्दै सर्वशक्ति सम्पन्न वाग्मती सभ्यता अभियानले निर्वाचन शुरू हुनु अगावै खोला किनाराका अनधिकृत बस्ती खाली गर्न १० दिने अल्टिमेटम जारी गरेको थियो। आयोगले हाल देशैभरबाट सुकुम्वासी प्रमाणित गर्नका लागि फारम संकलन गरिरहेको छ।
प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल, समानुपातिकतर्फ एमाले
हालै सम्पन्न आम निर्वाचनमा समानुपातिकतर्फ खसेका एक करोड बढी मत गणना भइसक्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अग्रस्थानमा रहेको छ। हालसम्म एमालेले २७ लाख २० हजार ६४ प्राप्त गरेको छ भने निरन्तर दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ८४ हजार ५४४ मत हासिल गरेको छ।
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ खसेका एक करोड नौ लाख ७३ हजार २७ मतबाट १ करोड १ लाख ३९ हजार ७२१ गणना भएको छ भने अब बाँकी रहेका लगभग ८ लाख मत गन्ने क्रम जारी छ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ११ लाख ५३ हजार ४१० मत प्राप्त गरी तेस्रो स्थानमा छ। समानुपातिक मत गन्ने प्रारम्भिक चरणमा तेस्रो बढी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी हाल ११ लाख ०४ हजार २०१ मत ल्याएर माओवादी केन्द्रभन्दा पछि परेको छ। उक्त दलले काठमाडौंमा सबैभन्दा धेरै समानुपातिक मत प्राप्त गरेको छ।
यसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७५ हजार १३, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ९२१ र जनमत पार्टीले तीन लाख ७६ हजार १५९ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीले २ लाख ८९ हजार ४८८ मत पाएको छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये एक १६१ क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। सुनसरी-४, स्याङ्जा-२, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूबाट प्राप्त अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने सङ्ख्या निर्धारण गर्ने छ। दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने निर्वाचन आयोगले स्याङ्जा -२ र बाजुरामा पुनः मतदान नहुने बताइसकेको छ। आयोगले यी दुई क्षेत्रमा मतगणना सुचारु गर्ने निर्देशन जारी गरिसकेको छ।
काठमाडौँमा किन कमजोर भयो एमाले?
नेकपा एमालेले प्रतिनिधिसभातर्फ काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित हासिल गर्यो। काठमाडौँ–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गरे जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याए।
त्यसबाहेक काठमाडौँका अन्य सात क्षेत्रमा एमालेका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी भए। काठमाडौँ–१ मा भने एमाले उम्मेदवार चौथो स्थानमा पुगे। जबकि, चार महिनाअघि मात्र गठन भएको स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ काठमाडौँका चार क्षेत्रमा विजय हासिल गर्यो।
प्रदेशसभातर्फ पनि काठमाडौँका २० क्षेत्रमध्ये चार स्थानमा मात्र एमाले उम्मेदवार विजयी भए। क्षेत्र नम्बर ४(२) मा जयराम थापा, क्षेत्र नम्बर ६(२) मा अमन मास्के, क्षेत्र नम्बर ७ (२) मा प्रकाश श्रेष्ठ र क्षेत्र नम्बर ९(२) मा केशवप्रसाद पोखरेल विजयी भए।
प्रदेशसभातर्फ २०७४ सालको निर्वाचनमा विजयी भएर मन्त्रीसमेत भएका एमालेका उपल्लो तहका कतिपय नेता पनि पराजित भए।
प्रदेशसभातर्फ बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्री बनेका रामेश्वर फुयाँल क्षेत्र नम्बर ३(२) मा नेपाली कांग्रेसका विमल ठकुरीसँग २ हजार ३७० मतान्तरमा पराजित भए। बागमती प्रदेशका सभामुख सानु श्रेष्ठ पनि क्षेत्र नम्बर २(१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसीसँग १ हजार ५१९ मतान्तरमा पराजित भए।
सांगठनिक रूपमा एमालेभन्दा कमजोर मानिएको राप्रपाका पाँच उम्मेदवारले काठमाडौँका प्रदेशसभा क्षेत्रमा जित निकालेका छन्। तर, राम्रो संगठन मानिएको एमाले राप्रपाभन्दा पछि परेको छ।
पार्टीभित्रको गुटबन्दी र कारबाही सिफारिस गरिएकालाई समेत उम्मेदवार बनाउने केन्द्रको निर्णयका कारण काठमाडौँमा प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश क्षेत्रमा एमाले पराजित भएको कार्यकर्ता बताउँछन्। मुकेश पोखरेलको विस्तृतमा विश्लेषण पढ्नुहोस्: काठमाडौँमा किन कमजोर भयो एमाले?
नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल बन्न संघर्षरत
नेकपा (एकीकृत समाजवादीले) हाल सम्म कुल गणना गरेको मतमा २ लाख ९० हजार १७४ (२.८५ %) मत पाएको छ भने कुल खसेको मतमा उक्त दलले पाएको मत २.६३% मात्र पुग्छ। कुनै पनि दलले राष्ट्रिय पार्टी बन्नका लागि ३ प्रतिशतको थ्रेस होल्ड कटाउनै पर्ने हुन्छ, जुन अहिले एकीकृत समाजवादीका लागि निकै नै ठूलो चुनौती देखिएको छ।
यस आम निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता दर्ता भएका थिए जसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख मत खसेको थियो।
राजनीतिक दलसम्बन्धी ऐनका अनुसार प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक सिट प्राप्त गर्ने र समानुपातिक प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने छन्।
समानुपातिकतर्फ गन्न बाँकी सदर मतको ठूलो हिस्साका साथै मतगणना शुरू नभएका क्षेत्रबाट उल्लेख्य मात्रामा मत हासिल गरेको खण्डमा मात्र एकीकृत समाजवादीको राष्ट्रिय दल बन्ने योजना टुंगो लाग्नेछ।
यस पार्टीका अध्यक्ष माधव नेपालका साथै वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनको नतिजा आउँदै गर्दा गठबन्धनका साझेदार दलहरूले इमानदारिता पूर्वक मतदान नगरेको, मत ट्रान्सफर नभएको, धाँधली र षड्यन्त्र भएको आरोप लगाएका थिए। अध्यक्ष नेपालले आफ्नो क्षेत्रबाट विजयी भए लगत्तै पुनः काम गठबन्धन बारे सोच्न सकिने भनेर वक्तव्य पनि दिएका थिए ।
प्रदेशसभातर्फ पनि कांग्रेस अग्रस्थानमा
प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि अहिलेसम्मको नतिजा हेर्दा प्रदेशतर्फ सबैभन्दा बढी नेपाली कांग्रेसले १०६ सिट जितेको छ भने नेकपा एमालेले ९० सिट जितेको छ।
यसैगरी माओवादी केन्द्रले ५३ सिटमा जित निकालेको छ भने एकीकृत समाजवादीले १५, र जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ११-११ सिट जितेका छन्।
१२ जना स्वतन्त्र उम्मेदवार प्रदेश सभाको निर्वाचनमा विजयी भएका छन्। यसका साथै नयाँ दलहरू नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समान ७-७ सिट आफ्नो पदमा ल्याएका छन् ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीले हालसम्म १-१ सिटमा जित निकालेका छन्।
नेका संसदीय दल निर्वाचनका लागि गगन-विश्वप्रकाशको प्रचण्ड तयारी
नेपाल कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा नेका संसदीय दलको निर्वाचन गराउने तर्फ अग्रसर भएका छन्।
निर्वाचन परिणामबाट आएको जनादेशको मर्म बुझ्दै थापालाई दलको नेता बनाउन अर्का महामन्त्री शर्माले सकभर सर्वसम्मति जुटाउने नभए आफूले प्रस्ताव गर्ने बताइसकेका छन् जसले गर्दा संस्थापन र इतर दुबै पक्षका तेस्रो-चौथो पुस्ताका सांसदले गगनलाई साथ दिने दबाब र सम्भावना दुवै बढेको छ।
अर्कोतर्फ महामन्त्री थापाले आउँदो शनिबारदेखि संसदीय दलको नेता चयनका लागि आफूले सांसदहरूसँग भेटघाट र छलफल अघि बढाउने बताइसकेका छन् ।
आज मात्रै राजधानीमा आयोजित एक कार्यक्रम माझ प्रधानमन्त्री बन्ने तयारीमा लागेका थापाले नेपाली आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् ।
मंसिर १५ गते शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख उनले गर्दै त्यसपछि भने सम्पूर्ण रूपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताए ।
अन्तर्वार्ता - हाम्रो कारणले अस्थिरता निम्तिने भयो भने सरकारमा जान्छौँ : राजेन्द्र लिङ्देन
पटक-पटक टुटफुटबाट गुज्रिएको र २०७४ को निर्वाचनमा राष्ट्रिय पार्टीसमेत बन्न नसकेको पूर्वपञ्चहरूको पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक प्रतिनिधिसभामा निर्णायक हैसियत कायम गरेको छ। बागमती लगायतका प्रदेशमा पनि उसको शक्ति सरकार निर्माणमा निर्णायक बन्न सक्छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितेको र समानुपातिकतर्फ अरू ८ सिट थप्ने देखिएकाले अबको सरकार निर्माणमा राप्रपाको यो शक्ति निर्णायक हुनेछ। राप्रपा अब बन्ने सरकारमा जान्छ कि जाँदैन? सरकारमा जाँदा कसको नेतृत्वलाई समर्थन गर्छ? सरकारमा जान उसको सर्त के हो? यिनै प्रश्नमा केन्द्रित रहेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग उकालोका लागि दिपा दाहालले गरेको कुराकानीको सारसंक्षेपः हाम्रो कारणले अस्थिरता निम्तिने भयो भने सरकारमा जान्छौँ : राजेन्द्र लिङ्देन
विमलेन्द्र निधि, सिके राउत बिच भेटवार्ता
नेपाली कांग्रेसका नेता विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त (सिके) राउतबीच काठमाडौंमा भेटघाट भएको छ।
काँग्रेसका पूर्वउपसभापति निधिको बानेश्वरस्थित निवासमा भएको भेटमा उनले राउतलाई प्रतिनिधिसभामा निर्वाचित भएकामा बधाई दिँदै सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ। हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै राउत सप्तरी-२ बाट सांसद चुनिएका हुन्।
निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू सकारात्मक भएको जवाफ दिएको बताइएको छ ।
प्रचण्ड गोज् ब्याक टू सुकुटे!
राजनीतिक तनावका बीच बेला-बेला 'फ्रेस' हुन उपत्यका बाहिर पुगिरहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेरि पनि सिन्धुपाल्चोक स्थित सुकुटे पुगेका छन्। निर्वाचन सकिएको हप्ता दिन लगत्तै बुधबार परिवार र पार्टीका नेताहरूसँगै दाहाल सुकुटे पुगेका हुन्।
बुधबार दिउँसो २ बजे त्यहाँ पुगेका दाहाल बिहीबार मात्रै फर्किने बताइएको छ। दाहाललाई यस 'मिनी भेकेसन'मा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, केही नवनिर्वाचित सांसद, सिन्धुपाल्चोकका माओवादी नेता लगायतले साथ दिएका छन्।
खेलकुद: अर्जेन्टिनाको विश्वकप यात्रा पोल्यान्डमा निर्भर
यी दुई टिमबीच हालसम्म भएका ११ खेलमध्ये अर्जेन्टिनाले ६ खेल जितेको छ भने पोल्यान्डले ३ खेलमा जित हात पारेको छ। अन्य २ खेल भने बराबरीमा सकिएका छन्। अर्जेन्टिनाको विश्वकप यात्रा पोल्यान्डमा निर्भर
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
