गोली लागी घाइते भएका रामराजा क्याम्पस प्रमुख कुशवाहाको मृत्यु

अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ– बाराको कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली प्रहारबाट मृत्यु भएको छ।

उनीमाथि शुक्रबार साँझ आदर्शकोतवाल गाउँपालिका–३ स्थित बतरा टोलमा गोली प्रहार भएको थियो। उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी सुरेश काफ्लेले जानकारी दिए।

आदर्शकोतवाल गाउँपालिका–२ निवासी कुशवाहामाथि शुक्रबार साँझ करिब ६ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। कुशवाहा घर जाने क्रममा मोटरसाइकालमा आएका व्यक्तिले पेटमा गोली प्रहार गरेको बताइएको छ। गोली प्रहार गर्ने व्यक्तिको खोजी जारी रहेको एसपी काफ्लेले जानकारी दिए।