कोशीमा आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड बजेट विनियोजन

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

काठमाडौँ– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन्।

कोशीको बजेट चालु आर्थिक वर्षभन्दा करिब एक अर्ब रुपैयाँ घटेर आएको छ। कोशीमा चालु आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

मन्त्री मगरले कुल विनियोजनमध्ये चालु खर्च १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख रुपैयाँ खर्च हुने बताए। त्यस्तै, उनले वित्तीय व्यवस्थातर्फ दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५८ करोड ५० लाख विनियोजन गरेका छन्। चालु खर्चमध्ये संघीय अनुदान फिर्तातर्फ तीन अर्ब रहेको उनले जनाए।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट चार अर्ब ९८ करोड रुपैयाँ रहेको छ। त्यस्तै, राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड आठ लाख र संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ९४ करोड ३२ लाख रुपैयाँ व्यहोरिने उनले उल्लेख गरे।

त्यस्तै, सशर्त अनुदानबाट चार अर्ब १६ करोड ४३ लाख र समपूरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने उनले बताए। बाँकी नगद मौज्दातबाट तीन अर्ब २५ करोड तथा वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने उनको भनाइ छ।