घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँका दरले घटाएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले घटाएको हो।

मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ। यहाँ यसअघि पेट्रोल प्रतिलिटर १६८ रुपैयाँमा बिक्री भइरहेको थियो।

त्यस्तै, डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ।

निगमले जारी गरेको विज्ञप्तिमा खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यबारे भने उल्लेख गरिएको छैन।