कुरिलो खेतीमा रमाएका पदमबहादुर: ५० कट्ठामा खेती, वार्षिक १६ लाख रुपैयाँको बिक्री

मध्यविन्दु नगरपालिका–३ का पदमबहादुर मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ।

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले ५० कट्ठामा कुरिलोको खेती गरेका छन्। मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा उनले तीन वर्षयता कुरिलोखेती लगाएका छन्।  अहिले उनी कुरिलो टिपेर बजार पठाउन व्यस्त छन्। 

“यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ,” उनले भने, “दैनिक ८० देखि १०० किलोसम्म बजार पठाइरहेको छु। पदमबहादुरले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ।

गत वर्ष १६ लाख रुपैयाँ बराबरको कुरिलो बेच्न सफल भएको र जसबाट खर्च कटाएर सात लाख मुनाफा आर्जन गरेको उनले सुनाए। गत वर्षभन्दा यो वर्ष उत्पादन बढ्ने उनले अनुमान गरेका छन्। हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकिलो ३०० तथा थोकमा मूल्य २५० रुपैयाँ छ। 

लोटस कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन्। उनले बारीमा कुरिलोसँगै घिरौँला, भिण्डी, करेला, खरबुजा पनि लगाएका छन्। तर अन्य उत्पादनले भन्दा कुरिलोबाट नै राम्रो आम्दानी हुने गरेको पदमबहादुरले बताए।