ताप्लेजुङको सिरिजंघा र मिक्वाखोलामा पहिरो, १५ परिवार विस्थापित

प्रहरीका अनुसार घरमा क्षति पुगेर विस्थापित परिवारलाई नजिकको विद्यालय र छिमेकीको घरमा राखिएको छ। बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँच जनाको मृत्यु भइसकेको छ।

फुङलिङ– निरन्तर वर्षाका कारणले ताप्लेजुङको सिरिजंघा र मिक्वाखोला गाउँपालिकामा १५ परिवार विस्थापित भएका छन्।

गत बुधबार यता  निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा स्थानीय घर छाड्न बाध्य भएका छन्। 

शनिबार राति मिक्वाखोला गाउँपालिका–५ ताङखुमा पहिरोले मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन्। ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलका अनुसार पहिरोले बस्न नमिल्ने गरी क्षति पुर्‍याएपछि आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ। 

उक्त गाउँमा सात किसानको २३ रोपनीमा लगाइएको अलैँची बगान पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ। 

यस्तै, सिरिजंघा गाउँपालिका–६ मामांखेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थापित भएका छन्। मामांखे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित हुनुपरेको छ। थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको घर पनि पहिरोले पुगेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिरिजंघा–७ मा नवराज लिम्बूको घर, भान्सा घर र पशुचौपाया गरी १६ लाख ९० हजार क्षति भएको छ। त्यस्तै, शुक्रराज लिम्बूको घर पूर्ण रूपमा क्षति र पशुचौपाया गरी १० लाख ८० हजार बराबरको क्षति भएको छ।

सिरिजंघा–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। पहिरोले खानेपानीको मुहान र पाइपमा क्षति पुर्‍याउँदा मामांखेका करिब ३०० परिवार खानेपानीबाट वञ्चित हुनु परेको पनि मनु लिम्बूले जानकारी दिइन्। 

प्रहरीका अनुसार घरमा क्षति पुगेर विस्थापित परिवारहरू नजिकको विद्यालय र आफन्तको घरमा शरण लिइरहेका छन्।

यसैगरी, याम्फुदिनमा दर्जनभन्दा बढी परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए। बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँच जनाको मृत्यु भइसकेको छ। ५५ पशु चौपाया मरेका छन्।

मनसुन पूर्ण रूपमा सक्रिय नहुँदै बाढी पहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन्। जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार ताप्लेजुङका ६१ मध्ये ४१ वडा पहिरोको उच्च जोखिममा छन्।