म्याग्दीका धनबहादुरले १३ वर्षअघि वैदेशिक रोजगारीलाई छाडेर स्थानीय जातका बाख्रापालन शुरू गरेका थिए। अहिले उन्नत जातका बोयर बाख्राको स्रोतकेन्द्र स्थापना गरेका छन्।
म्याग्दी– बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा शुरू गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाएका छन्। १३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारीलाई छाडेर उनले स्थानीय जातका बाख्रापालन शुरू गरेका थिए।
जीविकोपार्जन र स्वरोजगार बन्ने उद्देश्यले सानो लगानीमा शुरू गरेको बाख्रापालनलाई व्यावसायिक बनाएका उनले अहिले उन्नत जातका बोयर बाख्राको स्रोतकेन्द्र स्थापना गरेका छन्। व्यावसायी श्रीषले सञ्चालन गरेको श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा विगत पाँच वर्षदेखि शुद्ध बोयर जातका बाख्रापालन हुँदै आएको छ। उनले बोयर बाख्रा भने ९ वर्षदेखि पालन गर्न शुरू गरेका थिए। उनीद्वारा सञ्चालित फार्मलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले बाह्य स्रोत केन्द्को रूपमा समावेश गरेको छ।
लामो समयसम्म मासु उपभोगका लागि बाख्रापालन गरेको र पछिल्लो समय फार्मलाई बीउका लागि शुद्ध बोयर बाख्रा उत्पादन केन्द्रको रूपमा विकास गरेको फार्मका सञ्चालक श्रीषले बताउनुभयो। श्रीषको फार्ममा अहिले ४५ वटा शुद्ध बोयर बाख्रा छन्। फार्ममा तीन वटा ब्याडे बोका छन्। फार्ममा रहेका २० वटा माउ बाख्राले पाठापाठी जन्माउँछन्। फार्मबाट वार्षिक रूपमा ५० वटा शुद्ध बोयर बाख्रा र बोका बीउको लागि बिक्री हुँदै आएको श्रीषले बताए।
“यहाँबाट देशका विभिन्न ५५ जिल्लामा बीउको रूपमा बाख्रा लगिएको छ, वार्षिक रूपमा १७ लाख बराबरको बोयर बाख्रा बिक्री गर्दै आएको छु,’’ श्रीषले भने। व्यवस्थित र व्यावसायिक रूपमा स्थापित यो बाख्रा फार्ममा देशका विभिन्न ठाउँबाट नयाँ किसान अध्ययन अवलोकनका लागिसमेत आउने गर्छन्। बाख्रापालनको लागि श्रीषले ६० रोपनी जग्गामा घाँसका बिरुवा रोपेका छन्।
केही वर्ष अघिसम्म वार्षिक रूपमा एक करोड बढीको बोयर बिक्री गरेका श्रीषले पछिल्लो समय स्वदेशमा युवाहरूको अभाव र विदेश पलायन हुने क्रमले बाख्रापालनतर्फ आकर्षण घटेको कारण आफूले फार्ममा बोयर बाख्राको संख्या बढाउन समस्या भएको बताए।
“ बाख्रापालनमा लगानी, मेहनत, परिश्रम र आम्दानी सबैको चाँजो मिल्नुपर्छ, मैले बाख्रापालनबाटै घरखर्च धानेको छु, बाख्रापालनबाट म सन्तुष्ट नै छु,’’ श्रीषले भने। उनले बाख्रा फार्ममा खोर बनाउन मात्रै ५० लाख रुपैयाँ भन्दा बढी लगानी गरेका छन्। आफूले बाख्रापालन गरेपछि धेरै जना यो पेसामा जोडिन आउने र जाने क्रम भए पनि आफू भने आफ्नै घरमा आफ्नै पौरखमा रमाउन बाख्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाएर बसेको उनको भनाइ छ।
राज्यले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान लगायतमा धेरथोर सहयोग गरे पनि पछिल्लो समय कृषि सहुलियत ऋण पाउन मुस्किल पर्ने र बीमा बापतको रकम भुक्तानीमा ढिलासुस्ती हुँदा आफूहरू समस्यामा परेको किसान श्रीषले गुनासो गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
