सामान्य अंकले बढ्यो शेयर बजार

बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को बिन्दुमा कायम भएको हो।

बुधबार ३०८ कम्पनीको ७२ लाख नौ हजार ७५७ कित्ता शेयर ४८ हजार ७०६ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा बैंकिङ ०.१४, वित्त २.६२, जलविद्युत् ०.३२, लघुवित्त ०.१४, निर्जीवन बीमा समूह ०.१७ र अन्य समूहको उपसूचक ०.१६ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

विकास बैंक समूह ०.१२, होटल तथा पर्यटन ०.३६, लगानी ०.१८, जीवन बीमा ०.१३, उत्पादन तथा प्रशोधन समूह ०.४३, म्युचुअल फन्ड ०.०७ र व्यापार समूह १.३२ प्रतिशतले घटेको छ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.८८ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २० करोड २३ लाख ३८ हजार १४० रुपैयाँ बराबरको दुई लाख ८५ हजार ४० कित्ता शेयर किनबेच भएको छ।