ब्लुबुक किर्ते गर्दै अर्काको गाडी बेचेको आरोपमा ४ जना पक्राउ

सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौँको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौँको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धुम्बाराही बस्ने बैतडीको शिवनाथ–७ का ३८ वर्षीय वीरेन्द्रसिंह साउद, बुढानीलकण्ठ बस्ने चितवनका ३८ वर्षीय मनोजकुमार सुनार बराली र डोटीका ३२ वर्षीय पवन सिंह तथा कोटेश्वर बस्ने रामेशछापको तामाकोशी–५ का ३३ वर्षीय शान्तकुमार मगर रहेका छन्। 

एभरेस्ट बैंक धनी र गजेन्द्र लोहनी विश्वकर्मा ऋणी रहेको बा२०च ६४६७ नम्बरको मारुती ब्रेज्जा गाडी ब्लुबुक किर्ते गरेर खरिदबिक्री गरिरहेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूका साथबाट किर्ते गरेर तयार पारिएका दुइटा ब्लुबुक बरामद भएको छ। पक्राउ परेकामध्ये मनोजकुमार सुनार विगतमा गाडी किर्ते गरेर नम्बर परिवर्तन गरि चलाउँदा पक्राउ परेको खुलेको छ।

उनी जिल्ला अदालत ललितपुरको आदेशले ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। यस्तै वीरेन्द्रसिंह साउदले ५० हजार रुपैयाँको प्रलोभनमा परेर किर्ते ब्लुबुकमा फोटो टाँस्ने काम गरेको खुलेको प्रहरीले जनाएको छ।