पुटिन र किमले गरे रक्षा सम्झाैतामा हस्ताक्षर, के छ त्यसमा खास?

​​​​​​​सम्झौतामा हस्ताक्षरपछि किम जोङ उनले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचावट’ जवाफ दिने बताए।

रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले उक्त सम्झाैतामा हस्ताक्षर गरेका हुन्। पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा रहेका बेला बुधबार प्योङयाङमा '‍वृहत रणनीतिक साझेदारी' सम्झाैता भएको हो।

रुसको सरकारी सञ्चारमाध्यमले पुटिनलाई उद्धृत गर्दै उक्त सम्झौता अन्तर्गत दुवै देशले एकअर्कामाथि आक्रमण भएमा आपसी सहयोग उपलब्ध गराउने सहमति गरेको जनाएको छ। यो दुई नेताको पश्चिमा राष्ट्रहरूलाई स्पष्ट चेतावनी हो। रुसी सरकारी समाचार एजेन्सी तासले पुटिनलाई उद्धृत गर्दै यो सम्झौतालाई ‘ऐतिहासिक दस्तावेज’ बताएको छ, जसमा आपसी रक्षाको धारा थपिएको छ।

“आज हस्ताक्षरित व्यापक साझेदारी सन्धिले यस सन्धि पक्षहरूमध्ये कुनै एकविरुद्ध आक्रामकताको अवस्थामा पारस्परिक सहयोग प्रदान गर्दछ,” पुटिनले भने, “यो अग्रणी दस्तावेज हो र यसले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने छ।”

सम्झौतामा हस्ताक्षरपछि किम जोङ उनले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचावट’ जवाफ दिने बताए। साथै उत्तर कोरिया र रुसबीचको सम्बन्ध अब सहयोगको नयाँ तहमा स्तरोन्नति भएको र ‘बहुध्रुवीय विश्व’ निर्माणको प्रक्रियालाई गति दिने उनको भनाइ थियो।

यो पनि: रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि उत्तर कोरियामा, किमले गरे भव्य स्वागत (तस्वीरसहित)

अमेरिका र उसका सहयोगी राष्ट्रहरूले उत्तर कोरियामाथि लगाएको अनन्त नाकाबन्दीलाई राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा पुनरावलोकन गर्नुपर्ने सम्झौतामा उल्लेख छ। यस्तै, आक्रमणको अवस्थामा आपसी सहयोगका लागि दुई देशबीच बृहत् साझेदारी, दुई देशबीचको सैन्य प्राविधिक सहयोगलाई निरन्तरता दिने सम्झाैता भएको छ।

भर्खरै रुसी भूमिमा आक्रमण गर्न युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र, एफ–१६ लडाकु विमान र अन्य अत्याधुनिक हतियार र उपकरण उपलब्ध गराउने अमेरिका र नाटो देशले गरेको वक्तव्यलाई पनि ध्यानमा राखिएको कुरा पनि सम्झाैतामा उल्लेख छ। 

यो रक्षा सम्झौताको असर रुस र युक्रेनमा पनि देखिने विश्वास गरिएको छ। जसको असर बाँकी विश्व, विशेष गरी पश्चिमा देशलाई पर्न सक्ने आशंका गरिएको छ। अमेरिकी गुप्तचर एजेन्सी सीआईएका पूर्व विश्लेषक सु मी टेरीले बीबीसीसँगको कुराकानीमा दुई नेताबीचको यो भेट 'बाँकी विश्वका लागि नराम्रो खबर हुने' बताएका छन्।

उत्तर कोरियाको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई किमले भव्य स्वागत गरेका थिए। यसपछि पुटिनको अर्को गन्तव्य भियतनाम हो।