चितवनमा चैते धानको उत्पादन वृद्धि, मूल्य भने घट्दो

खैरहनी नगरपालिकामा यस वर्ष १४ हजार २७० मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान छ। गत वर्ष नौ हजार ८७६ मेट्रिक टन उत्पादन भएको थियो।

नारायणगढ– चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका रामबहादुर केसीले यस वर्ष आफ्नो पूरै खेतमा चैतेधान लगाए। मौसम उपयुक्त भएकाले धान उत्पादन वृद्धि भयो। “२४ कट्ठामा गत वर्ष ४२ क्विन्टल उत्पादन भएको थियो, यसपालि बढेर ५० क्विन्टल हाराहारी पुग्यो,” उनले भने।

धान उत्पादन बढेको देखेर उनी मक्ख छन्। धानको मूल्यमा एकरूपता नहुँदा भने उनलाई चिन्ता लागेको छ। गत वर्ष धानको मूल्य क्विन्टलको एक हजार ८०० बाट शुरू भएर तीन हजार पुगेको थियो। यस वर्ष भने घट्दो क्रममा रहेको उनको भनाइ छ। 

“चैते–५ जातको धान खानको लागि निकै मीठो हुन्छ। आफूलाई खाने राखेर सबै बेच्ने हो, एक वर्षपछि यसको भात मीठो हुन्छ,” उनले भने, “धान खरिदका लागि खेतमै व्यापारी आउने हुँदा बिक्रीमा समस्या छैन। मूल्य घटेकाले अलिक चिन्ता छ।”

खैरहनी–१० का श्रीराम महतोले यस वर्ष झन्डै दुई बिघा खेतमा चैते–५ धान लगाए। त्यसमा डेढ बिघा खेतमा मेसिन प्रयोग गरे। बाँकी जग्गामा पुरानो तरिकाले लगाएकामा मेसिन प्रयोग गरेको स्थानमा धान राम्रो फलेको र रोग कीरा पनि नलागेको उनी बताउँछन्। प्रतिकट्ठामा २.५ क्विन्टलभन्दा बढीका दरले धान फलेकाले उत्पादनबाट सन्तुष्ट छन्।  

खैरहनी–१२ का वडा सदस्य श्याम रेग्मी यस वर्ष उत्पादन भएको चैते धानले किसानलाई निकै उकासेको बताउँछन्। १२२ बिघा खेत भएको आफ्नो वडामा मात्रै १४ करोडको चैते धान बिक्री भएको उनले बताए। यस क्षेत्रमा प्रतिकट्ठा तीन क्विन्टलभन्दा बढी धान उत्पादन भएको छ।  

खैरहनीका कृषि विकास अधिकृत गौरव न्यौपानेले पालिकामा चैतेधान उत्पादन वृद्धि भएको बताए। यस वर्ष पालिकामा दुई हजार ३५१ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो। 

यस वर्षको चैते धान ४० प्रतिशतले वृद्धि भएको कृषि शाखाले जनाएको छ। चैते धान काट्ने समयमा दानामा लाग्ने डडुवा र ‘नेक ब्लास्ट’ नामको रोग नदेखिएको कारण पनि यस वर्ष धान उत्पादन बढेको हो।

 यस वर्ष चैते धान १४ हजार २७० मेट्रिक टन उत्पादन हुने आकलन गरिएको छ। गत वर्ष यहाँ नौ हजार ८७६ मेट्रिक टन उत्पादन भएको थियो। बढी मात्रामा चैते–५ जातको धान उत्पादन भएको छ।  त्यसैगरी पीआर, बिजी–१४४२, हर्दिनाथजस्ता चैते धान पनि लगाइएको अधिकृत न्यौपानेले जानकारी दिए।