पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

बेँसीशहर नगरपालिका– ६ खरखरेभिरमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ। 

लमजुङ– पहिरोका कारण बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ।

बेँसीशहर नगरपालिका– ६ खरखरेभिरमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइले बताए। 

उनका अनुसार अविरल वर्षासँगै खरखरेभिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सोही सडकमा पर्ने अक्टोपस झरनामा बाढी आएपछि आवागमन रोकिएको छ। हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ। 

बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै रहेको उनको भनाइ छ। यहाँ पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँ लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ।