सर्लाहीको बागमतीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको हो।

बरहथवा– सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान भएको  सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एक दर्जनभन्दा घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए। 

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुवाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, दशरथ कोहार र रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमुना अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। 

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो। बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकाहरूको जनकपुर, वीरगन्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।