नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको, ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले बताए।
बागमती– कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका ६ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडामा आयोजना गरेको बढ्दो विषादी न्यूनीकरण तथा पोषण सुधारका लागि सरोकार भएकासँगको अन्तर्क्रियामा कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले नेपालमा आयात हुने विषादीमध्ये करिब ७० देखि ८० प्रतिशत मकवानपुर, धादिङ, काभ्रेपलान्चोक र उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर खपत हुने गरेको जानकारी दिए।
नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको जनाउँदै उनले सबैभन्दा बढी ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको पाइएको बताए।
किसानले कीरा नियन्त्रण गर्न मालाथियन, साइपरमेथ्रिन, फनभालरेट, डाइक्लोरोभस, ढुसी नियन्त्रण गर्न म्यानकोजेव, कार्वान्डाइजिम, कपरओक्सी, क्लोराइड, वेनोमिल, डाइनेक्याप तथा झारपात नियन्त्रण गर्न न्यूटाक्लोरा, २–४ डी, पाराक्वाइट, ग्लाइकोसेटलगायतका विषादीहरूको प्रयोग गर्ने गरेका बाली संरक्षण अधिकृत पौडेलको भनाइ छ।
उत्पादन बढाउने नाममा देखासिकी, लहैलहै वा प्रतिस्पर्धामा जथाभाबी विषादीको प्रयोग गर्दा कृषि उत्पादनको उत्पादन लागत बढ्नुका साथै वायु, माटो र जल प्रदूषणका साथै जलवायु परिवर्तनको समस्या बढ्दै जाने उनले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बढ्दो रासायनिक मल र विषादीको प्रयोगका कारण मानवमा क्यान्सर, ट्युमर, प्रजनन स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपांगता भएका शिशु जन्मिने, वंशाणुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको बताए।
विषादीका कारण मानव स्वास्थ्य जोखिम परेकाले यसलाई नियन्त्रण गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उनले किसान तथा आमजनतामा जीवनाशक विषादीको प्रयोगलाई निरुत्साहित गर्न सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याए।
जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बढ्दो विषादी नियन्त्रणका लागि स्थानीय तहले आवश्यक बजेट तर्जुमा गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। किसानलाई अर्ग्यानिक कृषि उत्पादनमा प्रोत्साहित गर्न सीप र ज्ञानसम्बन्धी तालिम र अनुदान उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।
काभ्रेका अधिकांश एग्रोभेट अव्यवस्थित रूपमा सञ्चालन
कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको ‘प्लान्ट क्वारेनटाइन’ तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरद्वारा काभ्रेका सरोकारवाला कार्यालयसँग समन्वय गरी जिल्लास्थित विभिन्न क्षेत्रका एग्रोभेटको अनुगमन भइरहेको छ। बीउबिजन, विषादी र कृषि सामग्री बिक्री गर्दै आएका एग्रोभेट पसलको अनुगमन गरिएको हो।
हाल पनौती नगरपालिकामा रहेका एग्रोभेट अनुगमनका क्रममा चार वर्षदेखि इजाजतपत्र नै नवीकरण नगरी सञ्चालन गरिएको भेटिएपछि थापा लीलावती एग्रोभेटमा सिल गरिएको जनाइएको छ। पनौती–६ नमोबुद्ध रोडको उक्त एग्रोभेटले विषादी खुद्रा बिक्रेता इजाजतपत्र २०७७ माघ १६ गतेदेखि नवीकरण नगरी पसल सञ्चालन गर्दै आइरहेको थियो।
एग्रोभेट सञ्चालक प्रभुकृष्ण थापालाई एक हप्ताभित्र केन्द्रमा उपस्थित हुन भई स्पष्टीकरणसहित नियमानुसार लाइसेन्स नवीकरण गरेपछि मात्रै पसल खोल्न दिइने भएको हो। सञ्चालक थापाले विषादी खोलेर बेचेकोसमेत पाइएको छ भने विषादीको व्यवस्थापन सही तरिकाले नगरेको भेटिएको केन्द्रका वरिष्ठ वातावरण संरक्षण अधिकृत मनोज पोखरेलले बताए।
अर्को श्री लीलावती एग्रोभेट सेन्टर भने अनुगमन टोली आएको थाहा पाएपछि बुधबारदेखि पसल बन्द गरेर सञ्चालक भागेका छन्। यस्तै पनौतीका अधिकांश एग्रोभेट सेन्टर अव्यवस्थित ढंगले सञ्चालन भइरहेको अनुगमनका क्रममा फेलापरेको पोखरेलले बताए।
उनका अनुसार पनौतीको दौतरी एग्रोभेट सेन्टरले भेटेरिनरी र जीवनाशक विषादीसँगै राखेर बेचबिखन गरिरहेको, औषधि सुरक्षात्मक पहिरनको प्रयोग तथा बिक्री नगरी पसल अव्यवस्थित रहेको पाइएको हो।
पनौचीको सैंँजु एग्रोभेट सेन्टरमा म्याद नाघेको विषादी फेला परेको र सुरक्षात्मक पहिरनको प्रयोग नगरी व्यवस्थापन राम्रो नदेखिएको अनुगमन टोलीले जनाएको छ। मौसम एग्रोभेट सेन्टरमा तालिमप्राप्त व्यक्ति नभेटिएकाले टोलीले सेन्टरको इजाजतपत्र र प्रमाणपत्र लगेको छ।
अनुगमनमा जिल्लास्थित जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालयको सहभागिता गराएको केन्द्रले यसअघि बनेपा र पाँचखाल नगरका एग्रोभेट सेन्टरको अनुगमन गरेको थियो । अनुगमित एग्रोभेटमध्ये अधिकांश अव्यवस्थित रूपमा सञ्चालन गरेको पाइएकाले सचेत गराई व्यवस्थापनका प्रक्रियाबारे जानकारीसमेत गराइने केन्द्रले जनाएको छ। टोलीले जिल्लाको मण्डन, नमोबुद्ध, दोलालघाट, नालालगायतका क्षेत्रमा अनुगमन गर्ने योजना बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
