नेप्से परिसूचक १०.४४ अंकले घट्यो

बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।

काठमाडौँ– बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ को विन्दुमा कायम भएको छ।

८६ लाख ६३ हजार ६९९ कित्ता शेयर तीन अर्ब ८७ करोड सात लाख रुपैयाँमा किनबेच भएको छ। सामान्य बढोत्तरीसहित नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा बुधबार ७२ लाख नौ हजार ७५७ कित्ता शेयर तीन अर्ब ४० करोड ४३ लाख रुपैयाँमा किनबेच भएको थियो।

यसअघि मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा कायम रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर चार अर्ब पाँच करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो।

साताको अन्तिम कारोबार दिन बिहीबार फाइनान्स १.८२ र म्युचुअल फन्ड ०.१३ प्रतिशतले बढ्नुबाहेक ११ उपसमूह घटेका छन्। जसको असर नेप्से परिसूचकमा परेको हो।

१८६ कम्पनीको शे‍यर मूल्य घट्दा सर्वाधिक नोक्सानमा कुथेली बुखारी साना जलविद्युत‍्का लगानीकर्ता छन्। उक्त कम्पनीको शेयर मूल्य ९.२८ प्रतिशतले घटेको छ। यस्तै, भगवती हाइड्रोपावर, ग्लोबल आईएमई लघुवित्तलगायतका कम्पनी पनि शेयर मूल्य घट्ने कम्पनीको सूचीमा छन्।

५२ कम्पनीको शेयर मूल्य बढ्दा कालिका लघुवित्तका लगानीकर्ता ७.७१ प्रतिशत फाइदामा रहे। वाराही हाइड्रोपावर, सनराइज ब्लुचिप फन्ड, गुडविल फाइनान्सलागतका कम्पनी शेयर मूल्य बढ्ने सूचीमा छन्। 

सर्वाधिक कारोबार हुने कम्पनीमा माउन्टेन इनर्जी छ । उक्त कम्पनीको सेयर १७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ७४ लाख, सीइडीबी हाइड्रोपावरको ९ करोड ९९ लाख, पोखरा फाइनान्सको आठ करोड ९६ लाख र गोर्खाज फाइनान्सको आठ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।