सञ्चालनमा आए सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन

प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ।  

काठमाडौँ– नेपाल विद्युत् प्राधिरकणले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीको रेसुङ्गा  नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसनको निर्माण सकिएको जनाएको छ। प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो।  

प्राधिकरणका अनुसार सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, १६ एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन्। प्रसारण लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ।सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि तीन वटा ३३ केभीका र चार वटा ११ केभीका फिडर निर्माण गरिएका छन्। त्यसमध्ये ३३ र ११ केभीका २/२ वटा फिडर सञ्चालनमा ल्याई स्थानीय रूपमा विद्युत् आपूर्ति गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि मुख्य रूपमा गुल्मी जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने बताए।

“३३ केभी लाइन धेरै लामो हुँदा छिनछिनमा लाइन ट्रिपिङ हुने, कम भोल्टेज लगायतका समस्या थिए, अब १३२ केभी प्रसारण लाइन र सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति हुन थालेपछि समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ,” उनले भने, “सोही प्रसारण लाइनबाट विद्युत् प्रवाह हुने गरी ४० मेगावाटका सौर्य आयोजनाका लागि टेन्डर गरिएको छ, अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरू पनि जोडिने हुँदा यो प्रसारण लाइन त्यस क्षेत्रको ट्रंक लाइन हो।”

बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घाखाँची र गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो। ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेज समस्या थियो। साथै, प्राविधिक चुहावट पनि थियो।