पर्सामा मेलमिलापबाट टुंगिए मिटरब्याजसम्बन्धी ९५८ मुद्दा

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिटरब्याजसम्बन्धी अझै एक हजार १९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ।

वीरगन्ज– पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी ५५.५० प्रतिशत उजुरी टुंगो लगाइएको छ। साहुकर र अनुचित लेनदेनपीडितबीच जिल्लाभरिमा ९५८ वटा उजुरी टुंगो लागेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अझै एक हजार १९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले ५०७ वटा उजुरी टुंग्याएको थियो। त्यस्तै जिल्ला प्रहरी कार्यालयले आफू मातहत उजुरी आउन थालेपछि पनि ७३१ वटा उजुरीलाई टुंगो लगाइसकेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक भारतीले साहुकर र अनुचित लेनदेन पीडितबीच मेलमिलापका माध्यमबाट अधिकांश मुद्दा टुंगेको बताए। “जिल्ला प्रशासन कार्यालयबाट अनुचित लेनदेनसँग सम्बन्धित उजुरी पर्सा प्रहरीमा आएसँगै ७३१ वटा उजुरी टुंगो लगाएका छौँ,” उनले भने, “दिनहुँजसो दुवैपक्षसँग छलफल गरेर मिलाउने काम भइरहेको छ। 

प्रहरीले गत माघ २४ गतेदेखि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी लिन थालेको थियो। 

साहुकरले ऋणीबाट २४ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको रकम बिगो दाबी गरेका छन्। यसमध्ये मेलमिलापबाट १३ करोड ४३ लाख रकमको बिगो टुंगो लागेको छ।

अनुचित लेनदेनसँग सम्बन्धित पाँच वटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन्। प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई १५ बिघा १६ कट्ठा २४ धुर जग्गा फिर्ता गराएको छ।