सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ।
इलाम– वर्षौंदेखि आकासेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला खुशी छन्। उनी मात्रै होइन यहाँका सयौँ किसान वर्षौंदेखि आकासे पानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुशी भएका छन्।
जमुनामा कोशी प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामले २० लाखको लागतमा धुवाखोला सिँचाइ आयोजना निर्माण गरेपछि उनीहरू खुशी भएका हुन्। “आयोजना सम्पन्न भई खेतमा पर्याप्त पानी आउन थालेको छ। पक्की नहरको माध्यमबाट किसानका हाम्रा खेतमा सिँचाइ पुगेपछि वर्षौंदेखि बाझिएका खाली जमिनमा पनि खेती गर्ने जाँगर आएको छ,” फागोले भने, “सिँचाइ सुविधा विस्तारपछि मौसमअनुसारका अन्नबाली तथा तरकारीबाली उत्पादन गर्न थालेका छौँ।”
स्थानीय धुवाखोलाको पानी व्यवस्थापन गरी खेतसम्म पुर्याएपछि यतिबेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको आयोजना उपभोक्ता समितिका उपाध्यक्षसमेत रहेका किसान फागोले बताए। “पहिले पहिले धान रोप्नका लागि आकासे पानी पर्खनुपर्ने बाध्यता थियो, समयमा पानी नपर्दा खेत बाँझै राख्नुपर्ने बाध्यता पनि थियो सिँचाइ आयोजना सम्पन्न भएपछि यसपटक समयमै रोपाइ गरेका छौँ,” फागोले भने।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामका प्रमुख रामनारायण श्रेष्ठले आयोजनाबाट यस क्षेत्रको ७५ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको र ६३१ किसान प्रत्यक्ष लाभान्वित भएका बताए।
जमुनामा मात्रै होइन यहाँको फाकफोकथुम गाउँपालिका–३ आमचोकका किसान पनि यस वर्षदेखि उत्तिकै खुसी भएका छन्। यहाँ पनि कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा निर्माण भएको सिम्ले कुलो सिँचाइ आयोजनाले किसानलाई राहत मिलेको छ। यस आयोजनाबाट ८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ भने ४५० किसान परिवार प्रत्यक्ष लाभान्वित भएका छन्।
उक्त सिँचाइ आयोजना उपभोक्ता समितिका सचिवसमेत रहेका किसान टेक भारतीले पानी सुविधापछि खेत बाँझै राख्ने समस्या समाधान भएको बताए। “विगतका वर्षमा आकासेपानीको पर्खाइमा त असार–साउन नै बित्ने गर्दथ्यो, सिँचाइ सुविधा विस्तारपछि यस वर्ष भने समयमै रोपाइ गरेका छौँ,” भारतीले भने, “हामी ४५० किसान परिवार निकै हर्षित छौँ, उत्पादनसमेत बढ्नेमा आशावादी छौँ।”
जमुना र आमचोक प्रतिनिधि उदाहरण मात्र हुन्। इलाममा कोशी प्रदेश सरकारले सिँचाइ सुविधाका लागि चालु आर्थिक वर्षमा मात्रै चार करोड ८० लाख ७० हजार रुपैयाँ लगानी गरेको छ। त्यसबाट ठूलासाना, नयाँ निर्माण र पुराना मर्मतसम्भार गरी ३५ आयोजनाका लागि उक्त रकम खर्च गरिएको हो। तीमध्ये २३ आयोजना सम्पन्न भइसकेका छन् भने आठ आयोजना अन्तिम चरणमा रहेका सिँचाइ विकास डिभिजन इलामका प्रमुख श्रेष्ठले जानकारी दिए।
सम्पन्न भएकामध्ये नयाँ बहुवर्षे सिँचाइ आयोजना चार वटा र मर्मतबाट सम्पन्न भएका सिँचाइ आयोजना १९ रहेका छन्। चार वटा आयोजना भने शुरू हुन नसकेको प्रमुख श्रेष्ठले जानकारी दिए। “यस वर्ष इलाममा कोशी प्रदेश सरकारबाट ३५ सिँचाइ आयोजनाका लागि बजेट विनियोजन गरेको थियो, सबै आयोजना सम्पन्न भएमा जिल्लामा दुई हजार चार सय दुई हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार हुनेछ”, श्रेष्ठले भने। उनका अनुसार आयोजनाबाट जिल्लाका १३ हजार ४६९ जना किसान प्रत्यक्ष लाभान्वित हुनेछन्।
यहाँको रोङ गाउँपालिकामा पनि २० लाख रुपैयाँको लागतमा बिरिङ कटहरे सिँचाइ आयोजना सम्पन्न भएको छ भने ३५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको सुकेनिन्दा सिँचाइ आयोजना अन्तिम चरणमा छ। माइजोगमाई गाउँपालिकामा २० लाख ७० हजार रुपैयाँको लागतमा खड्के खोला सिँचाइ आयोजना र १८ लाख रुपैयाँको लागतमा ढाडे खोला सिँचाइ आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ ।
सन्दकपुर गाउँपालिकामा १५ लाख रुपैयाँको लागतमा गीताङ सिँचाइ आयोजना र पाँच लाख लागत दाहाल खोला टारीबेँसी सिँचाइ आयोजना सम्पन्न भएका छन्। सूर्योदय नगरपालिकामा पनि २० लाख रुपैयाँको लागतमा आन्द्रे खोला सिँचाइ आयोजना र आठ लाख रुपैयाँको लागतमा रम्फोक खोला ढाडे सिँचाइ आयोजना सम्पन्न भएका छन्।
यस्तै, माई नगरपालिकामा १५/१५ लाख रुपैयाँको लागतमा पलाँसे र लेवाखोला, १० लाख रुपैयाँको लागतमा लोधिया र पाँच लाख रुपैयाँको लागतमा लोदिया माई सिँचाइ आयोजना सम्पन्न भएका छन् भने २० लाख रुपैयाँको लागतमा ठ्याउरे खोला फ्याउरे सिँचाइ आयोजना निर्माणाधीन छ।
यसैगरी देउमाई नगरपालिकामा १५ लाख रुपैयाँको लागतमा ढोकेखोला तथा १०/१० लाखको लागतमा सेवा खोला, सियाखोला मुहानचुली कुलो, सियाखोला मुहानचुली कुलो (१), सियाखोला मुहान जुवारे कुलो र सियाखोला मुहान जुवारे कुलो सिँचाइ आयोजना (१) र आठ लाख रुपैयाँको लगानीमा फाप्लुङम्बा सिँचाइ आयोजना सम्पन्न भएको डिभिजन कार्यालयले जनाएको छ।
माङसेबुङ गाउँपालिकामा १० लाख रुपैयाँको लागतमा कुसुण्डे बोहोरागाउँ सिँचाइ आयोजना सम्पन्न भएको छ। फाकफोकथुम गाउँपालिकामा २० लाख रुपैयाँको लागतमा होयाङ खोला सिँचाइ आयोजना अन्तिमचरणमा रहेको छ। इलाम नगरपालिकामा १०/१० लाख रुपैयाँको लागतमा हुलाके कुलो, जानिटार, छाँगे जर्मने सिँचाइ आयोजना र चिसेनी नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना सम्पन्न भएका छन् भने ३५ लाख रुपैयाँको लागतमा करफोक खोला सिँचाइ आयोजना निर्माणाधीन छ। यस्तै, चुलाचुली गाउँपालिकामा १० लाख रुपैयाँको लागतमा रतुवा खोला सिँचाइ आयोजना र ६ लाख रुपैयाँको लागतमा सानो चाँजु सिँचाइ आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिए।
सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ। कृषि ज्ञान केन्द्रका अनुसार इलाममा ३२ हजार ९९५ हेक्टर क्षेत्रमा मकै, १३ हजार ४८१ हेक्टर क्षेत्रमा धान, चार हजार ५८४ हेक्टर क्षेत्रमा गहुँ, एक हजार ५९७ हेक्टर क्षेत्रमा कोदोको व्यावसायिक खेती हुँदै आएको छ। यस्तै एक हजार ७५५ हेक्टर क्षेत्रमा अलैँची, ८९० हेक्टर क्षेत्रमा किवी, २९० हेक्टर क्षेत्रमा सुन्ताला, १२५ हेक्टर कफीको व्यावसायिक खेती हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
