पुटिन फर्किएलगत्तै दक्षिण कोरियाको बन्दरगाह पुग्यो अमेरिकी युद्धपोत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणलगत्तै अमेरिकाले दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासका लागि युद्धपोत विमान पठाएको हो।  

आणविक शक्ति सञ्चालित अमेरिकी विमान वाहक युद्धपोत ‘थियोडोर रुजवेल्ट’ दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा पुगेको छ । 

दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासका लागि यो युद्धपोत आइपुगेको दक्षिण कोरियाको नौसेनाले जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणलगत्तै अमेरिकाले युद्धपोत विमान पठाएको हो।  

दक्षिण चीन सागरको विवादित जलमार्गमा चीनको आक्रामक व्यवहारको निन्दा गर्दै तीन राष्ट्रका नेताले अगस्ट २०२३ मा वार्षिक सैन्य प्रशिक्षण अभ्यास गर्ने सहमति गरेका थिए।

पुटिनको यात्राका क्रममा रुस र उत्तर कोरियाले एक अर्काविरुद्ध कुनै किसिमको आक्रमण भए प्रतिकार गर्ने ५ बुँदे सम्झौता गरेका छन्। गएको साता प्योङयाङ आएका पुटिन र नेता किम जोङ उनबीच उक्त सहमति भएको थियो। 

पुटिनले २४ वर्षमा पहिलो पटक यस हप्ता उत्तर कोरियाको भ्रमण गरेका थिए। प्योङयाङमा उच्च राष्ट्रिय सम्मान ग्रहण गरेपछि पुटिन भियतनाम पुगेका थिए। त्यहाँ पनि सहकार्यको सहमति गरेर उनी मस्को फर्किसकेका छन्।