युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण

आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

रुसले युक्रेनको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गरेको छ।

बिहीबार राति भएको ठूलो आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ।  

रुसले दुई वर्षयता गरेका मिसाइल र ड्रोन आक्रमणले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाई किभलाई युरोपियन युनियनबाट ऊर्जा आयात गरेर आपूर्ति गर्न बाध्य पारेको छ। जेलेन्स्कीले यस हप्ताभित्र युक्रेनका सबै अस्पताल र विद्यालयमा सौर्य प्यानल जडान गर्ने बताए। 

गर्मीको समयमा बिजुलीमा प्रभाव पार्ने रुसी प्रयास असफल गर्न आवश्यक प्रयास गरिरहेको उनको भनाइ छ। 

डिटेकका प्रमुख कार्यकारी म्याक्सिम टिमचेन्कोले युक्रेनका पश्चिमी सहयोगीले ऊर्जा सञ्जालको रक्षा गर्न सहयोग नगरे यो जाडोमा गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले वासिङ्टनले किभमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिने बताए।