मधेश प्रदेशसभाले पारित गर्‍यो बालिका संरक्षण विधेयक

मधेश प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ।

धनुषा– मधेश प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ।

सभाको शनिबारको बैठकमा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले महिला बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

मन्त्री जयसवालले बालिका संरक्षणसम्बन्धी कानून ल्याउने पहिलो प्रदेशका रूपमा मधेश प्रदेशको नाम आएको उल्लेख गरे। उनले माता जानकीको भूमिबाट पहिलो बालिका संरक्षणसम्बन्धी कानून पारित भएको बताए।

उनले प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि शुरू गर्न १२ करोड रुपैयाँ थप बजेट व्यवस्था गरेको जानकारी दिए। बालिका संरक्षणमा काम गर्दा बालकलाई अन्याय हुन नदिन सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो। “सकारात्मक विभेदमार्फत छोरीहरूलाई सशक्त बनाउन आवश्यक छ,” उनले भने।

विधेयकमा १७ जना प्रदेशसभा सदस्यले धारणा राखेका थिए। उनीहरूले उठाएका विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता औँल्याए।