दार्चुलामा सिकार गर्ने क्रममा गोली लागेर १ जनाको मृत्यु

दार्चुलामा सिकार गर्ने क्रममा भरुवा बन्दुक पड्किँदा गोली लागेर एक जनाको मृत्यु भएको छ।

दार्चुला– सिकार गर्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ। भरुवा बन्दुकबाट चलेको गोली लागेर नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धंके डडालको मृत्यु भएको हो।

शनिबार नौगाड गाउँपालिका–१ लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा धंकेलाई लागेको थियो।

टाउकोमा गोली लागेका धंकेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

स्थानीयका अनुसार डडालले सोही वनमा पासा थापिरहेका थिए। गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।