ब्युटीपार्लरमा काम दिने बहानामा नाबालिकालाई यौनधन्दामा लगाउने २ जना पक्राउ

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको छ।

काठमाडौँ– नाबालिकालाई ब्युटीपार्लरमा काम दिने भन्दै काठमाडौँका विभिन्न मसाज सेन्टर तथा होटलमा यौनजन्य क्रियाकलापमा लगाइएको पाइएको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको हो।

अनुसन्धानका क्रममा स्पा सेन्टर सञ्चालक गोरखा सिरानचोक घर भई काठमाडौँको टोखा बस्ने रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका घर भई ललितपुरको सातदोबाटो बस्दै आएकी मखमली माया स्याङ्तानलाई पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी एसपी गौतम मिश्रले जानकारी दिए। 

पीडितको जाहेरीका आधारमा उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा अघि बढाइएको र अन्यको खोजी भइरहेको उनले बताए।  डरत्रास र प्रलोभनमा पारी काममा लगाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा टोखाको सनफ्लावर स्पा सेन्टर र ठमेलको ए वान स्पा सेन्टरबाट दुई नाबालिकाको उद्धारसमेत गरिएको छ। 

पक्राउ परेका रेशम गुरुङले आर्थिक अवस्था कमजोर भएका ग्रामीण क्षेत्रका नाबालिका तथा किशोरीलाई सामाजिक सञ्जालबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्युटीपार्लरमा काममा लगाई दिने भनी प्रलोभनमा पारेर काठमाडौँमा आउने भाडा पठाएर झिकाउने गरेको अनुसन्धानका क्रममा पाइएको छ। 

काठमाडौँ आएपछि टोखामा रहेको आफ्नै स्पा सेन्टरमा मासिक १० हजार रुपैयाँ तलब दिने भनी काममा लगाई आफैँले पटक–पटक करणी गरी र जबरजस्ती यौनधन्दामा लगाइएको खुल्न आएको एसपी मिश्रले बताए। यसैगरी तिनै नाबालिकालाई प्रतिवादी मखमली माया स्याङ्तानको ठमेलस्थित ए वान स्पा सेन्टरमा ल्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको पाइएको प्रहरीले जनाइएको छ। 

उनीहरूले शुरूमा बालिकालाई आफूले सञ्चालन गरेको मसाज सेन्टरमा मसाजसम्बन्धी तालिमसमेत दिई मसाजको काममा लगाउने र बिस्तारै मसाज सेन्टरमा आएका व्यक्तिको इच्छाअनुसार शारीरिक सम्पर्क राख्न लगाउने गरेको पाइएको अनुसन्धानमा खुलेको छ । त्यसपछि ती बालिकालाई विभिन्न होटल तथा गेस्टहाउसमा वेश्यावृत्तिका लागि पठाउने गरेको खुल्न आएको छ।

नाबालिकाहरूलाई स्पा सेन्टरमा मसाज गरेको फोटो तथा भिडियो आफन्तलाई पठाई दिने भनी डरत्रासमा पारी यौनधन्दामा लगाउने गरेका पनि ब्युरोले जानकारी दिएको छ।