बांग्लादेशमा पुल भत्किँदा ९ जनाको मृत्यु

विवाह भोजका पाहुना बोकेको एउटा माइक्रोबस र अटोरिक्सा पुल भत्किएर नहरमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बांग्लादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा नौ जनाको मृत्यु भएको छ। 

विवाह भोजका पाहुना बोकेको एउटा माइक्रोबस र अटोरिक्सा पुल भत्किएर नहरमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। पुल भत्किँदा दुवै सवारी साधन नहरमा खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले जानकारी दिए। घटना शनिबार दिउँसो भएको उनले बताए।

“उद्धारकर्ताहरूले नहरबाट नौ शव निकालेका छन् भने १० जना घाइते भएका छन्,” उनले भने।